काठमाडौं । प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले उत्कृष्ट प्रदर्शन गरिरहेको छ ।
कीर्तिपुरस्थित टियु मैदानमा बागमतीले सोमबार सुदूरपश्चिम प्रदेशलाई १ सय ८० रनले हराएर लगातार दोस्रो जित निकाल्यो ।
पहिलो खेलमा बागमतीले नेपाल पुलिस क्लबलाई ७ विकेटले हराएको थियो ।
बागमती २ खेलमा ४ अंक जोडेर समूह 'बी' को शीर्ष स्थानमा रहेको छ ।
बागमतीको सानदार प्रदर्शनमा पृथु बास्कोटाको प्रदर्शन उत्कृष्ट देखिएको छ ।
सुदूरपश्चिमविरुद्ध फराकिलो जित निकाल्दा पृथुले ८४ रन बनाए । जसमा १० चौका र २ छक्का सामेल थियो ।
पृथुले पुलिसविरुद्धको खेलमा समेत अविजित रहदै ४८ रन बनाएका थिए ।
चोटबाट मुक्त हुँदै मैदान फर्किएपछि पृथुले पहिलो पटक घरेलु लिगमा उत्कृष्ट प्रदर्शन गरिरहेका हुन् ।
उमेर समूह र राष्ट्रिय टिमबाट खेलिसकेका पृथुले छनोट खेलमा समेत उत्कृष्ट प्रदर्शन गरेका थिए ।
यसपटक पृथु आफ्नो टिमलाई उपाधि जिताउने सोचमा छन् ।
‘यस प्रतियोगितामा राम्रो भईरहेको छ । टिमलाई जिताउन खेलिरहेको छु । फिजिकल र फिटनेशमा पनि ध्यान दिएको छु । फोकस लङ ब्याटमा रहेको छ । सबैले हार्डवर्क गरिरहेको छौं । यहि प्रदर्शन जारी गर्दै टोलीलाई उपाधि जिताउने लक्ष्य छ,’ उमेर समूहको यू–१९ विश्वकप खेलिसकेका पृथु भन्छन् ।
पृथु घरेलु प्रतियोगिता विभागीय टिम एपीएफबाट खेल्ने गर्थे । यस पटक भने विभागीय टिम छाडेर प्रदेश टिमबाट खेलिरहेका छन् ।
प्रदेश टिमलाई बलियो बनाउने योजनाको कारण उनले एपीएफ छाडेका हुन् ।
‘विभागमा १० वर्ष खेल्यौं । अब प्रदेशलाई पनि राम्रो बनाएर अगाडी बढ्ने सोच भएर यताबाट खेल्दैछु,’ पृथुले भने ।
पृथुसंगै राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्ल, पूर्व कप्तान पारस खड्का पनि विभागीय टिम छाडेर बागमतीबाट खेलिरहेका छन् ।
यस्तै पृथुले प्रतियोगिताबाट राष्ट्रिय टिममा पुनरागमन भन्दा पनि प्रदेशलाई उपाधि दिलाउने योजनामा आफु अग्रसर भएको बताए ।
‘यहि खेल खेलेर उपाधि जित्छौं । इख राखेर खेलिरहेको छौं । पहिला टिमलाई जिताउन खेल्छु,’ पृथु भन्छन्, ‘नेपाली टोलीमा अहिले निकैनै प्रतिस्पर्धा बढेको छ । सबैले हार्ड वर्क गरिरहेको छौं । टिममा पर्ने नपर्ने सेलेक्सन टिमको भर पर्छ । म मेरो राम्रो दिने प्रयास गर्छु ।’