एजेन्सी । नेपाली क्रिकेटका पूर्व कप्तान पारस खड्का टिम आबुधाबीको इमर्जिङ ट्यालेन्ट मेन्टरमा नियुक्त भएका छन् ।
टी-टेन क्रिकेट टीम आबुधाबीले सामाजिक सञ्जालमा सार्वजनिक गर्दै पारसलाई इमर्जिङ ट्यालेन्ट मेन्टरमा नियुक्त गरेको जनाएको छ ।
गत संस्करणमा पारसले टी टेन लिगमा आबुधाबीबाट प्रतिनिधित्व गरेका थिए । लिगमा खेल्दै पारस नेपालबाट अन्तराष्ट्रिय क्रिकेट लिग खेल्ने तेस्रो नेपाली खेलाडी बनेका थिए ।
तर यसपटक पारस फरक भूमिकाका देखिने भएका छन् ।
'टीम आबुधाबीको इमर्जिङ ट्यालेन्ट मेन्टरमा पारस खड्कालाई नियुक्त गर्न पाउँदा हामी खुसी छौँ ।' सामाजिक सञ्जालमा आबुधाबीले भनेको छ, 'नेपाली क्रिकेटका लेजेण्डले यस सिजन मेन्टरको भूमिकामा देखिने छन् ।'
यस्तै पारस खड्का समेत इमर्जिङ ट्यालेन्ट मेन्टरमा नियुक्त हुन पाउँदा आफू उत्साहित भएको बताएका छन् । पारसले सामाजिक सञ्जालमा आफू इमर्जिङ ट्यालेन्ट मेन्टरमा नियुक्त भएकोमा नेपाली युवा खेलाडीले अवसर पाउने सम्भावना व्यक्त गरे ।
'आबुधाबीको नयाँ भूमिका निर्वाह गर्न उत्साहित छु । नेपालमा अन्तराष्ट्रिय स्तरको क्रिकेट विकासमा सहयोग पुग्ने आशा छ र हाम्रो युवा खेलाडीले यसमा मौका पाउने छन् ।' पारसले सामाजिक सञ्जालमा भनेका छन् ।
गत संस्करणमा पारसले २ इनिङ ब्याटिङ गर्दै ४ रन बनाएका थिए भने २ ओभरमा १ विकेट लिन सफल थिए ।
पारसले अबको भूमिकाका नयाँ प्रतिभालाई टिममा ल्याएर उनीहरूको खेल कौशल विकासमा काम गर्ने छन् ।