चितवन । राप्ती टिमले गौतमबुद्ध कप टी ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।
फाइनल खेलमा नारायणीलाई ९ रनले पराजित गर्दै राप्तीले पहिलो संस्करणको उपाधि जितेको हो।
भरतपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा १ सय ४४ रनको लक्ष्य पछ्याएको नारायणीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३४ रनमा समेटियाे ।
उसका आरिफ शेखले सर्वाधिक ४८ रन बनाए । ३१ बलको सामना गरेका उनले ४ चौका र ३ छक्का प्रहार गरे ।
यस्तै, रित गौतम र इशान पाण्डेले समान २७/२७ रनको योगदान गरे ।
राप्तीका अविनास बोहराले ३ तथा भुवन कार्कीले २ विकेट हात पारे ।
यसअघि पहिले ब्याटिङ गरेको नारायणीले २० ओभरमा १ सय ४३ रन बनाएको थियो ।
उत्कृष्ट सुरुवात गरेको राप्तीको लागि कुशल भुर्तेलले सर्वाधिक ४२ रनको आक्रामक पाली खेले ।
यस्तै, बिनोद भण्डारीले ३२, अमित श्रेष्ठले १७ र शरद भेषवाकरले १० रन बनाए ।
नारायणीका शाहाब आलमले ३, सुशन भारीले २ र कप्तान करन केसीले १ विकेट हात पारे ।
प्रतियोगिता अन्तर्गत उदयमान खेलाडीमा नारायणीका शाहाब आलम घोषित भए । उनले नगत १५ हजार प्राप्त गरे।
यस्तै उत्कृष्ट ब्याट्सम्यान राप्तीका कुशल भुर्तेल र उत्कृष्ट बलर नारायणीका करन केसी घोषित भए । दुवै खेलाडीले नगत समान २५/२५ हजार प्राप्त गरे ।
यस्तै प्रतियोगिताका उत्कृष्ट खेलाडी बनेका अविनास बोहराले नगत ४५ हजार प्राप्त गरे ।
तीन टिम सहभागी प्रतियोगिता बागमती प्रदेश क्रिकेट संघले आयोजना गरेको थियो ।
लामो समयदेखि क्रिकेट ठप्प रहेको कारण क्रिकेट चलायमान बनाउन प्रदेश क्रिकेट संघले प्रतियोगिता आयोजना गरेको हो ।