चितवन । गौतमबुद्ध कप टी-ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत लिग चरणको अन्तिम खेलमा राप्ती टिम विजयी भएको छ ।
भरतपुरमा सोमबार भएको खेलमा राप्तीले नारायणीलाई १ विकेटले पराजित गरेको हो ।
भरतपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा नारायणीले दिएको १ सय ३९ को लक्ष्य राप्तीले १९ ओभर ५ बलमा ९ विकेट गुमाएर पुरा गर्यो ।
राप्तीको जितमा कुशल भुर्तेलले ६५ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ४१ बलमा ६ छक्का ४ चौकाको मद्दतले ६५ रन बनाए ।
खराब सुरुवात गरेको राप्तीको लागि कुशलले जितको आधार बनाएका थिए । तर, मध्यक्रमका ब्याट्सम्यान सम्हालिन नसक्दा एक समय राप्ती हार नजिक पुगेको थियो ।
त्यसपछि कमल सिंह ऐरीले अविजित २४ रनको आक्रामक इनिङ्स खेल्दा राप्तीले रोमाञ्चक जित निकाल्यो ।
नारायणीका कप्तान करन केसीले ३ विकेट लिए । यस्तै सुशन भारी र किशोर महतोले २/२ विकेट हात पारे ।
यस अघि टस जितेर पहिले ब्यटिङ गरेको नारायणीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३८ रन बनाएको थियो ।
नारायणीका किशोर महतोले अविजित रहदै ३६ रन बनाए । उनले आक्रामक १४ बल खेल्दै ४ छक्का र २ चौका प्रहार गरे । यस्तै करन केसीले ३२ रनको गर्दा नारायणीले सम्मानजनक स्कोर बनाएको थियो ।
१३ औं ओभरमा ६ विकेट गुमाएर ६५ रन बनाएको नारायणीको पाली किशोर र केसीले उकासेका थिए ।
नारायणीका सुशन भारीले १८, रित गौतमले १३ र इशान पाण्डेले १० रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।
राप्तीका सुर्य तमाङ र अविनास बोहराले २/२ विकेट लिए ।
यी दुवै टोली यस अघिनै फाइनल पुगिसकेका छन् । फाइनल खेल मंगलबार हुनेछ ।