चितवन । गौतम बुद्ध कप क्रिकेट प्रतियोगिता अन्तर्गत दोस्रो खेलमा राप्ती टिमले बागमतीलाई १ सय ३० रनको लक्ष्य प्रस्तुत गरेको छ।
भरतपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा भएको खेलमा राप्तीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय २९ रन बनायो ।
टस हारेर ब्याटिङको निम्तो पाएको राप्तीको लागि अमित श्रेष्ठले सर्वाधिक २६ रन बनाए । ३३ बलको सामना गरेका अमितले २ चौका र छक्का प्रहार गरेका थिए ।
शरद भेषवाकर र कप्तान बिनोद भण्डारीले समान २१/२१ रन जोडे । यस्तै लोकेश बमले १५ तथा कमल सिंह ऐरीले १६ रन बनाए ।
अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।
बागमतीका सोमपाल कामी, सगर ढकाल, र रशिद खानले समान २/२ विकेट लिए । यस्तै ललित राजबंशी र बिक्रम सोबले १/१ विकेट हात पारे ।
शनिबार भएको पहिलो खेलमा बागमती टिम नारायणीसंग सुपर ओभरमा पराजित भएको थियो । प्रतियोगितामा राप्तीको यो पहिलो खेल हो ।
बागमती जित निकाल्दै फाइनल प्रवेशको लागि आफ्नो सम्भावना कायम राख्न चाहन्छ । फाइनल पुग्न बागमतीलाई आजको खेल जित्ने पर्ने दबाब रहेको छ ।
यता राप्ती एक खेल अगावै फाइनल पुग्ने लक्ष्यका साथ मैदान उत्रिएको छ ।
सिंगल राउण्ड रोबिनका आधारमा सञ्चालन हुने प्रतियोगितामा तीन टिम सहभागी छन् ।
शीर्ष दुई स्थानको टिमले मंसिर ३० गते फाईनल खेल खेल्नेछन् ।
कोरोनाका कारण प्रभावित बनेको घरेलु खेलकुदलाई चलायमान बनाउन बागमती प्रदेश क्रिकेट संघले प्रतियोगिताको आयोजना गरेको हो ।