काठमाडौं । सडक दुर्घटनामा परि घाईते भएका राष्ट्रिय क्रिकेट टिमका खेलाडी ललित सिंह भण्डारीको सफल शल्यक्रिया गरिएको छ ।
क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) ले बिहीबार ललितको मुख्य चोटको सफल शल्यक्रिया गरिएको जनाएको छ ।
काठमाडौंको ग्राण्डी अस्पतालमा डा. चक्र राज पाण्डेको टिमले शल्यक्रिया गरेको सिप्यानले जनाएको छ ।
सिप्यानले उनको अवस्था सामान्य रहेको समेत जनाएको छ ।
आईतबार राति धनगढीबाट महेन्द्रनगर जादै गरेको ट्रकको ठक्करबाट ललित सवार मोटर साईकल दुर्घटनामा परेको थियो ।
दुर्घटनामा परेपछि उनलाई धनगढीको निसर्ग हस्पिटलमा राखेर उपचार गरिएको थियो । त्यहाँका चिकित्सकले थप उपचारका लागि ललितलाई नेपागञ्ज मेडिकल कलेज कोहलपुरमा रिफर गरेका थिए ।
सोमबार भने ललितलाई हेलिकप्टरबाट काठमाडौं ल्याइएको थियो ।
ललितको उपचारका लागि पछिल्लो समय सिप्यानले आर्थिक संकलन गरिरहेको छ ।
सिप्यानले सेञ्चुरी कमर्सियल बैंकको ००१०००२५२९ CA खातामा सहयोग रकम जम्मा गर्न सकिने जनाएको छ ।
चोटकै कारण ललित पछिल्लो समय राष्ट्रिय टिमबाट बाहिर रहदै आएका थिए । विभागीय टिम पुलिसमा आबद्ध ललितले घरेलु क्रिकेटका विभिन्न फ्रेन्चाईज प्रतियोगिता खेलिरहेका थिए ।