काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव रमेश सिलवालले सडक दुर्घटनामा परि घाईते भएका राष्ट्रिय क्रिकेट टिमका खेलाडी ललित सिंह भण्डारीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
सदस्य सचिव सिलवाल मंगलबार काठमाडौंको ग्राण्डी अस्पताल पुगेर ललितको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।
सदस्य सचिव सिलवालले ललितको श्रीमतीसँग भेट गर्नुका साथै उपचारमा संग्लग डाक्टरसँग अवस्था बुझेका थिए ।
ललितको स्वास्थ्य अवस्था बुझ्दै सदस्य सचिव सिलवालले उपचार प्रक्रियामा लाग्ने खर्चमा राखेपले सहयोग गर्ने प्रतिबद्दता व्यक्त गरेको नेपाल क्रिकेट संघ (क्यान) का सदस्य छुम्बी लामाले जानकारी गराए ।
'खेलाडीसँग पैसा हुँदैन भनेर उपचारमा डर मान्नु पर्दैन । खेलाडीको लागि राखेप छ,' ललितको उपचारमा खटिएका डाक्टरसँग सदस्य सचिवले भने,'उहाँको जिम्मा राखेपले लिन्छ । तपाई ढुक्क भएर उपचार गर्नुहोस् ।'
लामाले ललितको धर्मपत्नी, परिवारलाई समेत सदस्य सचिवले राखेपले उपचारमा सहयोग गर्ने प्रतिबद्दता व्यक्त गरेको बताए ।
'तपाईंहरू नआत्तिनुहोस् राखेपले सहयोग गर्नेछ । अब ऊ कसरी ठिक हुन्छ र मैदानमा फर्किन्छ भनेर सोच्नु पर्छ,' सदस्य सचिवले भनेको कुरा लामाले बताए ।
अस्पतालको आईसियुमा रहेका ललितको शल्यक्रिया केहि समयपछि गर्ने बताइएको छ ।
'ललित आईसियुमा छन् । राम्रै होसमा छन् । भोलिबाट उपचार सुरु हुन्छ होला,' ललितको अवस्थाबारे लामाले भने, ' थुप्रै ठाउँमा फ्याक्चर रहेछ । धेरै अप्रेसन गर्नु पर्ने देखियो । केही दिनबाट अप्रेसनको काम सुरु हुन्छ ।'
आईतबार राति धनगढीबाट महेन्द्रनगर जादै गरेको ट्रकको ठक्करबाट ललित सवार मोटर साईकल दुर्घटनामा परेको थियो ।
दुर्घटनामा परेपछि उनलाई धनगढीको निसर्ग हस्पिटलमा राखेर उपचार गरिएको थियो । त्यहाँका चिकित्सकले थप उपचारका लागि ललितलाई नेपागञ्ज मेडिकल कलेज कोहलपुरमा रिफर गरेका थिए ।
सोमबार भने ललितलाई हेलिकप्टरबाट काठमाडौं ल्याइएको थियो । ललितको थप उपचार काठमाडौंको ग्राण्डी अस्पतालमा भईरहेको छ।
चोटकै कारण ललित पछिल्लो समय राष्ट्रिय टिमबाट बाहिर रहदै आएका थिए । विभागीय टिम पुलिसमा आबद्ध ललितले घरेलु क्रिकेटका विभिन्न फ्रेन्चाईज प्रतियोगिता खेलिरहेका थिए ।