काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रिय सदस्य दावा लामाले सामाजिक संस्था हन्ड्रेड ग्रुपलाई आर्थिक सहयोग प्रदान गरेका छन् ।
फुटसल कमिटिका पूर्व संयोजक समेत रहेका लामाले सोमबार हन्ड्रेड ग्रुपका संयोजक बब्लु गुप्तालाई २० हजार रुपैयाको चेक हस्तान्तरण गरेका हुन् ।
हन्ड्रेड ग्रुपले कोरोना भाईरसको महामारीको कारण दैनिक गुजारा टार्न समस्या भएका परिवारलाई दैनिक खाना खुवाउदै आइरहेको छ ।
हन्ड्रेड ग्रुपले पछिल्लो समय पुरानो बसपार्कमा दैनिक गुजारा गर्ने परिवारका सदस्यहरु दैनिक १ हजार जनालाई निशुल्क खाना खुवाइरहेको छ ।
एन्फा सदस्य लामाले यस्तो विषम परिस्थितिमा कमजोर आर्थिक अवस्था भएका परिवारलाई निशुल्क खाना खुवाएर ग्रुपले सराहनीय कार्य गरेको र आफुले पनि केही सहयोग होस भनेर सहयोग गरेको बताए ।
'ग्रुपले निकै सराहनीय काम गरेको छ । फुटबलमा माध्यमबाट ग्रुपलाई सहयोग गर्न पाउँदा निकै खुसी छु,' लामाले भने ।
हन्ड्रेड ग्रुपका संयोजक गुप्ताले सहयोग गर्ने एन्फा सदस्य लामालाई धन्यवाद ज्ञापन गर्दै यस्तै किसिमको सहयोगले नै सामाजिक कार्य गर्न थप प्रेरणा मिल्ने बताए ।