एजेन्सी । विश्वकप फुटबल अन्तर्गत फ्रान्स र अष्ट्रेलियाबीचको खेल सूरु भएको छ । रुसको कजान रंगशलामा सूरु भएको खेलमा दुवै टोलीको लक्ष्य कम्तिमा एक अंक जोड्नु हुनेछ ।
अष्ट्रेलियाबिरुद्धको खेलमा फ्रान्सले आफ्ना तीन आक्रमक खेलाडीलाई मैदान उतारेको छ । समुह चरणको पहिलो खेलमा उत्रन लागेको फ्रान्सले तीन स्ट्राईकरलाई मैदानमा उतारेको हो । फ्रान्सेको पहिलो लाईन अपमा एन्टोनी ग्रिजम्यान, केरियम एम्बाप्पे र उसमान डेम्बेले रहेका छन् । त्यस्तै आक्रमक मिडफिल्डर पाउल पोग्बाले समेत उनीहरुलाई साथ दिएका छन् ।
ग्रिजम्यानले पछिल्लो युरोकप फुटबलमा सर्वाधिक गोल गर्दै गोल्डेन बुट जितेका थिए । परम्परागत रुपमा खेल्दै आएको ४–४–२ को रणनीतिलाई परिमार्जन गर्दै प्रशिक्षक डिडियर डेसच्याम्पले ४–३–३ को संरचनामा खेलाडी उतारेका छन् । टोलीमा चेल्सीका स्टार मिडफिल्डर कान्टे समेत परेका छन् ।
अष्ट्रेलियाको टोलीमा युवा खेलाडीको साथ छ । उसले भेट्रान खेलाडी टिम काहिललाई पहिलो रोजाईमा उतारेको छैन । अष्ट्रेलियाले डिफेन्समा जोड दिदै टोली मैदान उतारेको छ ।