एजेन्सी । नेसन्स लिग फुटबलमा बेल्जियमले आइसल्याण्डमाथि शानदार जित निकालेको छ ।
मंगलबार राति घरेलु मैदानमा बेल्जियमले आइसल्याण्डलाई ५–१ ले हराएको हो ।
बेल्जियमको जितमा चेल्सी स्टार मिक्की बत्सुवाइले दुई गोल गरे ।
खेलमा अग्रता आइसल्याण्डले ११ औं मिनेटमा होलबर्ट एरोन फ्रिडजोनसनको गोलबाट लिएको थियो । एक्सन विटसेलले १३ औं मिनेटमा बेल्जियमका लागि बराबरी गोल फर्काएका थिए । त्यसको चार मिनेटपचि मिक्की बत्सुवाइले बेल्जियमलाई २–१ ले अघि बढाए ।
डेरिस मार्टेन्सले ५० औं मिनेटमा बेल्जियमका लागि तेस्रो गोल गरे । केभिन डी ब्रुइनको पासलाई सदुपयोग गर्दै डेरिसले गोल गरेका थिए ।
६९ औं मिनेटमा बत्सुवाइले ब्यक्तिगत दोस्रो गोल गर्दै बेल्जियमलाई ४–१ ले अघि बढाए । ७९ औं मिनेटमा डी ब्रुइनीकै पासलमा जेरेमी डोकुले गोल गर्दै बेल्जियमलाई शानदार जित दिलाए ।
इङ्ल्याण्ड बराबरी
सोही समुहको अर्को खेलमा इङ्ल्याण्डले डेनमार्कसंग गोल रहित बराबरी खेल्दै अंक बाँड्यो । मासन ग्रिनउड र फिल फोडेन अनुशासनको कारबाहीमा परे लगत्तै डेनमार्कबिरुद्ध उत्रिएको इङ्ल्याण्डले निराशाजनक प्रर्दशन गरेको हो ।
पहिलो खेलमा समेत उसले आइसल्याण्डसंग १–० को संघर्षपूर्ण जित निकालेको थियो । दोस्रो हाफको इन्जुरी समयमा आइसल्याण्ड पेनाल्टीमा चुकेपछि इङ्ल्याण्डले जित निकालेको थियो ।