काठमाडौं । नेपाली राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले कोरोना भाईरस संक्रमित ओलम्पियन जितबहादुर केसीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
संघका अध्यक्ष दीपक श्रेष्ठ र निर्वतमान अध्यक्ष दीपक विष्ट केसीको घर पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।
७२ वर्षे केसी कोरोना संक्रमणपछि कंलकी राना गाँउमा रहेको आफ्नै घरमा आइसोलेसनमा बसेका छन् ।
खेलाडी संघका पदाधिकारीसँगको भेटमा केसीले आफुलाई कोरोनाको कुनै लक्षण नदेखिएको बताएका छन् ।
गत साता केसीलाई कोरोना संक्रमण देखिएको थियो । केसी र उनको परिवारको आइतबार पीसीआर परिक्षण हुने बताइएको छ ।
यस्तै संघले केसीलाई २ बोरा चामलसहित अन्य खाद्यान्न सामाग्री समेत उपलब्ध गराएको छ ।
केसीले सन् १९७३ मा फिलिपिन्सको मनिलामा भएको एसियाली एथ्लेटिक्स च्याम्पियनसिपमा कास्य पदक प्राप्त गरेका थिए । सो सफलता अन्तराष्ट्रिय प्रतियोगितामा नेपालले प्राप्त गरेको पहिलो अन्तराष्ट्रिय पदक थियो ।
जितबहादुरको सम्मानमा सरकारले गत बर्षदेखि मासिक १० हजार रुपैयाँ सम्मान भत्ता उपलब्ध गराउँदै आएको छ । घरेलु खेलकुदमा उनले पुर्याएको योगदानको सम्मान गर्दै वर्तमान सरकारले मासिक १० हजार रुपैयाँ प्रदान गर्ने निर्णय गरेको हो ।