काठमाडौं । ओलम्पियन खेलाडी जितबहादुर केसीसंग खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले फोनवार्ता गरेका छन् ।
कोरोना भाईरसबाट संक्रमित भएर स्वास्थ्य लाभ गरिरहेका केसीसंग खेलकुद मन्त्री विश्वकर्माले बिहिबार फोन गरि स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।
खेलकुद मन्त्री विश्वकर्माले केसीलाई फोन गरेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएको खेलपाटीलाई बताए ।
‘उहाँलाई भाईरसको कुनै लक्षण देखिएको रैनछ । सबै अवस्था सामान्य देखिएको छ ।’ मन्त्री विश्वकर्माले खेलपाटीसंग भने, ‘मानसिक रुपमा समेत उहाँलाई बलियो रुपमा पाए । शिघ्र स्वास्थ्य लाभको कामना गरेको छु ।’
मन्त्री विश्वकर्माले केसीको अवस्था सामान्य रहेको उल्लेख गर्दै चाँडै निको हुने विश्वास ब्यक्त गरे ।
गत मंगलबार ओलम्पियन खेलाडी जितबहादुरमा कोरोना संक्रमण देखिएको पुष्टि भएको थियो । पेट र दिसामा समस्या आएपछि हस्पताल लैजाने क्रममा उनको कोरोना परिक्षण गरिएको थियो । सो क्रममा उनको रिपोर्ट पोजेटिभ आएको थियो ।
जितबहादुरले सन् १९७३ मा फिलिपिन्सको मनिलामा भएको एसियाली एथ्लेटिक्स च्याम्पियनसिपमा कास्य पदक प्राप्त गरेका थिए । सो सफलता अन्तराष्ट्रिय प्रतियोगितामा नेपालले प्राप्त गरेको पहिलो अन्तराष्ट्रिय पदक थियो ।
जितबहादुरको सम्मानमा सरकारले गत बर्षदेखि मासिक १० हजार रुपैयाँ सम्मान भत्ता उपलब्ध गराउँदै आएको छ । घरेलु खेलकुदमा उनले पुर्याएको योगदानको सम्मान गर्दै वर्तमान सरकारले मासिक १० हजार रुपैयाँ प्रदान गर्ने निर्णय गरेको हो ।