काठमाडौं । आयोजक ग्रिनल्यान्ड स्कुलले क्विक्स ग्रिनल्यान्ड अन्तर विद्यालय बास्केटबल प्रतियोगितामा दोहोरो जित हात पारेको छ ।
टोखास्थित आयोजक विद्यालयको कोर्टमा भएको सिनियर छात्रको पहिलो खेलमा ग्रिनल्यान्डले सेब स्कुललाई ३७–२० स्कोर हरायो । यस्तै दोस्रो खेलमा ग्रिनल्यान्डले फ्लोरिसेन्ट ३७–१५ ले पराजित गर्यो । विजेताका सम्पन्न गुरुङले १० अंकको योगदा गरे ।
यसैगरी जुनियर छात्रको खेलमा स्किब, लालीगुराँस र इडन ब्रिजले पनि विजयी सुरुवात गरेका छन् । स्किबले फ्लोरिसेन्टलाई ८–२, लालीगुराँसले सेबलाई ६–५ र इडन ब्रिजले अभियान पब्लिक स्कुललाई १०–५ स्कोरले पराजित गरे ।
सिनियर छात्रामा भने भ्याली पब्लिकले सफल सुरुवात गरेको छ । भ्यालीले स्किबलाई २५–२० को स्कोरमा हरायो ।
भदौ २२ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन प्याब्सन उपत्यका प्रदेशका अध्यक्ष समेत रहेका ग्रिनल्यान्ड स्कुलका प्रिन्सिपल थकिनकुमार गुरुङ, भ्वाइस प्रिन्सिपल विनोद घिमिरे र प्रतियोगिता संयोजक पूर्ण न्यौपानेले निर्णायकलाई संयुक्त रुपमा बल हस्तान्तरण गरी गरेका थिए ।
प्रतियोगितामा सिनियर छात्रतर्फ १६, जुनियर छात्रमा १६ र सिनियर छात्रामा १२ टोलीको सहभागिता रहेको छ ।