काठमाडौं । इन्डोनेसियामा जारी १८ औं एसियन गेम्स अन्तर्गत टेबल टेनिसको टिम स्पर्धाको महिलातर्फ नेपालले दुई खेलमा हार बेहोरेको छ ।
समूह डी मा रहेको नेपालले आइतबार समूह चरणको दुई खेल गुमाएको हो । नेपाल पहिलो खेलमा मलेसियासंग ३ - ० अंकले पराजित भयो । दोस्रो खेलमा पनि नेपाल सिंगापुरसंग ३ - ० ले नै पराजित भयो ।
अब नेपालले हङकङ र भियतनामसंग खेल्न बाँकी रहेको छ । महिला टिम स्पर्धामा नेपालबाट नविता श्रेष्ठ, रबिना महर्जन र स्वेच्छा नेम्बाङ रहेकी छिन् ।
पुरुष टिम स्पर्धाको पहिलो खेलमा नेपाल चीनसंग ३ - ० ले पराजित भयो । समूह ए मा रहेको नेपालले आजै मलेसियासंग खेल्नेछ ।
टिम स्पर्धामा नेपालबाट स्याण्टु श्रेष्ठ, दीप साउन र अमरलाल मल्ल रहेका छन् ।