एजेन्सी । भारतको चर्चित क्रिकेट लिग इन्डियन प्रिमियर लिग (आईपीएल) सेप्टेम्बर अन्तिम साताबाट गर्ने तयारी गरिएको छ ।
भारतको मुम्बई मिररले आईपीएल सेप्टेम्बर २६ देखि नोभेम्बर ८ सम्म गर्ने तयारी भएको जनाएको छ ।
विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसको कारण आईपीएल पटक पटक सर्दै आएको थियो ।
सुरुवातमा मार्च २९ देखि मे २४ सम्म आईपीएल गर्ने घोषणा गरिएको थियो । तर, कोरोनाको कारण भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले प्रतियोगिता केही साता पछि धकेलेको थियो ।
'आईपीएल सेप्टेम्बर महिनाको अन्तिम देखि नोभेम्बर सुरुवात । अर्थात् सेप्टेम्बर २६ देखि नोभेम्बर ८ सम्म हुन् सक्छ । यो मिति टी- ट्वान्टी विश्वकपको आयोजना के हुन्छ भन्ने निर्णय पछि पक्का गरिने छ,' मुम्बई मिररले लेखेको छ ।
बीसीसीआईका अध्यक्ष सौरभ गांगुलीले प्रतियोगिता बन्द रंगशालामा गराउन सकिने बताईसकेका छन् ।
यस्तै क्रिकेट अष्ट्रेलियाले यस वर्षको टी-ट्वान्टी विश्वकप आयोजना कठिन रहेको बताएपछि आईपीएलले प्राथमिकता पाउने देखिएको छ ।
आईपीएलको सुरुवाती खेल चेन्नाई सुपर किङ्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच हुने सम्भावना रहेको बताइएको छ ।
सेप्टेम्बरमा मनसुन सुरु हुने भएकाले धेरै खेलहरु दक्षिण भारतमा हुने बताइएको छ ।
आईपीएल ठूलो धनराशिको प्रतियोगिता भएको कारण रद्द भएमा बीसीसीआईलाई ठूलो आर्थिक नोक्सानी हुनेछ ।
त्यसैले बीसीसीआई कुनै हालतमा प्रतियोगिता गराउन चाहन्छ ।