एजेन्सी । पाकिस्तानी क्रिकेट टिमका अलराउण्डर मोहम्मद हफिजले टी-ट्वान्टी विश्वकप नखेली आफुले सन्यास घोषणा नगर्ने बताएका छन् ।
एक भिडियो कन्फरेन्समा बोल्दै ३९ वर्षीय हफिजले विश्वकप लम्बिए आफ्नो सन्यास समेत लम्बिने बताएका हुन् ।
'विश्वकपपछि टी-ट्वान्टी क्रिकेटमा सन्यास लिने मैले सोच बनाए,' हफिजले भने, 'टी-ट्वान्टी क्रिकेटको ठुलो प्रतियोगिता खेल्दै सन्यास लिन चाहन्छु । जहाँ म राम्रो प्रदर्शन गर्छु र जितको नोटमा लेखिनेछ ।'
पाकिस्तानका पूर्व कप्तान समेत रहेका हफिजले यस वर्ष अष्ट्रेलियामा आयोजना हुने विश्वकप खेल्दै सन्यासको योजना बनाएका छन् । तर, कोरोना भाईरसको महामारीको कारण नोभेम्बमा हुने भनिएको विश्वकप अन्योलमा रहेको छ ।
'यो मेरो योजना हो । यदि टी-ट्वान्टी विश्वकप त्यस समय स्थगित भयो त्यसको मतलब यो हुँदैन कि म यो खेल्दिन,' हफिजले भने ।
हफिजले सन् २०१८ मा टेष्ट क्रिकेटबाट सन्यास लिएका थिए । तर, सिमित ओभरका क्रिकेट खेलिरहेका छन् ।
उनी जनवरीमा बंगलादेशविरुद्ध तय भएको टी-ट्वान्टी सिरिजका लागि टिममा थिए । यस्तै अगष्ट र सेप्टेम्बरमा इंग्ल्यान्ड भ्रमणका लागि उनी छानिएका थिए ।
१७ वर्षे अन्तर्राष्ट्रिय क्रिकेट करियरले हफिजले २ सय १८ एकदिवसीयमा ६ हजार ६१४ रन बनाएका छन् । एकदिवसीयमा उनले १३९ विकेट लिएका छन् ।