काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीहरू लामो समयपछि प्रशिक्षणमा फर्किन थालेका छन् ।
कोरोना भाईरसको कारण गरिएको लकडाउन सरकारले खुकुलो पारेसँगै काठमाडौंमा रहेका खेलाडीहरुले व्यक्तिगत अभ्यास थालेका छन् ।
तीन महिना भन्दा बढी गरिएको लकडाउन खुकुलो भएसँगै खेलाडीले किर्तिपुरको त्रिवि क्रिकेट मैदानमा अभ्यास गर्न थालेका हुन् ।
राष्ट्रिय टिमका सदस्यहरु शरद भेषवाकर, सन्दीप लामिछाने, पारस खड्का लगायतका खेलाडीले व्यक्तिगत अभ्यास सुरु गरेका छन् ।
'लकडाउन खुकुलो भएपछि बाहिर हिड्न सहज वातावरण बन्यो अनि आफै अभ्यासमा लागेको छु,' नेपाली टिमका भरपर्दा ब्याट्सम्यान शरदले खेलपाटीसँग भने, 'पहिले त हिड्नै डर हुन्थ्यो । सबैको स्वास्थ्यलाई पनि ध्यानमा राख्नु पर्थ्यो ।'
गत चैतबाट लकडाउन लगाएको सरकारले यसै साताबाट लकडाउन खुकुलो बनाएको हो ।
'एक दुई दिन भयो मैदानमा जान थालेको । अरु खेलाडी पनि समय मिलाएर आउनु हुन्छ । मन परेको खेल, लामो समयपछि खेल्न पाउँदा खुसी लागेको छ,' शरदले थपे ।
सरकारले लकडाउनको मोडालिटी परिवर्तन गरेपछि अन्य जिल्लामा समेत खेलाडीहरू मैदानमा फर्किन थालेका छन् ।
राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले शनिबार सामाजिक सञ्जालमा एक भिडियो सार्वजनिक गर्दै अभ्यासमा फर्किएको बताएका थिए ।
भिडियोमा उनी इन्डोर हलमा फ्रेन्चआइज टिम आबुधाबीको जर्सीमा ब्याटिङ गर्दै गरेको देख्न सकिन्छ ।
पारसले भिडियो सार्वजनिक गर्दै आफू अभ्यासमा फर्किन पाएकोमा खुसी भएको बताएका छन् ।
'८० दिन पछि काममा फर्किएको छु । सबैभन्दा ठूलो खुसी,' पारसले लेखेका छन् ।
यसअघि राष्ट्रिय टिममा फास्ट बलर अभिनास बोहरा एक्लै मैदानमा अभ्यास गर्दै आएका थिए ।
हालै नेपाल क्रिकेट संघले समेत सामाजिक दुरी र लकडाउनको गाइडलाइन पालना गर्दै खेलाडीको प्रशिक्षणका लागि सरकारसँग अनुमति माग गरेको थियो ।
तर, लकडाउन खुकुलो पारेपनि सरकारले खेलक्षेत्र बन्द रहने बताईसकेको छ ।