काठमाडौं । आयोजक गोल्डेनपिक र भ्यालीपब्लिक स्कुलले सातौं गोल्डेनपिक अन्तर स्कुल बास्केटवल प्रतियोगिताको उपाधि जितेका छन् ।
जुनियर ब्वाइजको उपाधि भिडन्तमा गोल्डेनपिकले ग्रिनल्याण्ड स्कुललाई २७—१३ को जित निकाल्दै च्याम्पियन बनेको हो । गोल्डेनपिकको जितमा उत्कृष्ट प्रदर्शन गरेर मोष्ट भ्यालुएवल खेलाडी चुनिएका प्रवेश राईले सर्वाधिक १२ स्कोर गरे । जुनियरतर्फ नवजिवन स्कुल तेस्रो भयो ।
सिनियर ब्वाइजको फाइनलमा भ्यालीपब्लिकले ग्रिनल्याण्डलाई ६१—३३ को स्कोरमा स्तब्ध बनाउदै उपाधि हात पार्यो । भ्यालीको जितमा मोष्ट भ्यालुएवल खेलाडी बनेका राहुल विकले सर्वाधिक २० स्कोर गरे । सिनियरतर्फ ह्वीजकिड्सले तेस्रो स्थान हात पार्यो ।
प्रतियोगितामा जुनियरतर्फको सर्वाधिक स्कोरकर्ता नवजीवनका रोशन लगुन र सिनियरतर्फ ग्रिनल्याण्डका राजिव आले घोषित भए । त्यस्तै सर्वाधिक थ्री प्वाइन्ट गर्ने खेलाडीमा जुनियर तर्फ ग्रिनल्याण्डका सुरेश गुरुङ्ग र सिनियर तर्फ ह्वीजकिड्सका प्रसिद्ध थापा चुनिए ।
प्रतियोगिताका विजयी टिमहरुलाई नेपाल बास्केटवल संघका महासचिव नरेन्द्र थापा, आयोजक विद्यालयका प्रिन्सिपल तथा कार्यक्रमका अध्यक्ष छत्रमणि राई, निर्देशक कला राई, को अडिनेटर भिमराज राई, बेविलोन स्कुलका प्रिन्सिपल राजु राई न्यू समिटका निर्देशक रमेश पन्थी लगायतले पुरस्कृत गरेका थिए ।
प्रतियोगितामा सिनियर तर्फ १२ र जुनियर तर्फ १२ टिमले प्रतिस्पर्धा गरेका थिए ।