एजेन्सी । श्रीलंका क्रिकेट टिमका पूर्व कप्तान कुमार संगाकाराले भारतका ब्याट्सम्यान विराट कोहली महान खेलाडी बन्ने बताएका छन् ।
एक टेलिभजन शोमा कुरा गर्दै संगाकाराले भारतीय कप्तान कोहली महान खेलाडी बन्ने दाबी गरेका हुन् ।
संगाकाराले सर डन ब्राडम्यानपछि क्रिकेटका महान खेलाडी कोहली भएको दाबी गरे ।
'विराट असाधारण फिट छन् । मलाई थाहा छ र मैले अनुभव गरेको छु कि उहाँ उत्कृष्ट हुनुहुन्छ । उहाँसँग अद्भुत प्रतिबद्धता र समर्पण छ । मैदानमा र बाहिर उहाँ शारीरिक, मानसिक र सीपमा उत्कृष्ट छन्,' संगाकाराले भने, 'उनीसँग डनपछि महान बन्ने ठूलो अवसर छ ।'
अष्ट्रेलियाका पूर्व क्रिकेटर ब्राडम्यानलाई विश्व क्रिकेटमा अहिलेसम्मकै महान खेलाडीको रुपमा लिने गरिन्छ । उनलाई सर्वकालीन महान ब्याट्सम्यानको रुपमा चिनीने गरिन्छ ।
कोहली आधुनिक क्रिकेटका उत्कृष्ट ब्याट्सम्यान मध्येका एक हुन् । एकदिवसीय क्रिकेट १२ हजार रन बनाईसकेका कोहलीले ४३ शतक बनाएका छन् । उनी सचिन तेन्दुलकरले बनाएको सर्वाधिक शतकको रेकर्ड भङ्ग गर्ने योजनामा छन् ।
यस अघि न्युजिल्याण्डका कप्तान केन विलियम्सनले पनि कोहली महान क्रिकेटर भएको बताएका थिए ।
स्टार स्पोर्ट्सको एक क्रिकेट कार्यक्रममा बोल्दै विलियम्सनले कोहलीसँग नतिजा आफ्नो बनाउन राम्रो निर्णय गर्न सक्ने क्षमता भएको पनि बताएका थिए ।