एजेन्सी । कोरोना भाईरसको कारण स्थगित भारतको चर्चित क्रिकेट लिग इन्डियन प्रिमियर लिग (आईपीएल) सेप्टेम्बर र अक्टोबरमा गर्ने तयारी भएको छ ।
कोरोनाको कारण दुई पटक मिति घोषणा भएर स्थगित लिग अझै अनिश्चित रहेको छ । तर, भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले भने यस वर्षको प्रतियोगिता सेप्टेम्बर र अक्टोबरमा गर्ने तयारी गरेको हो।
यस वर्ष तय भएको आईसीसी टी-ट्वान्टी विश्वकप र एसिया कप नभए आईपीएल सेप्टेम्बर र अक्टोबर भित्र हुनेछ ।
आईपीएलका अध्यक्ष बृजेश पटेलले विश्वकप र एसिया कप आयोजना नभए आईपीएल सेप्टेम्बर र अक्टोबर भित्र गराउने योजना भएको बताए ।
'हामी आईपीएल आयोजनाका मितिहरू हेर्दैछौँ । तर, यो टी-ट्वान्टी विश्वकप र एसिया कपमा निर्भर छ । त्यसैको अधिनमा अह्मी सेप्टेम्बर र अक्टोबरमा संचालन गर्ने योजना बनाईरहेका छौँ,' पटेलले भने ।
ईपीएलको १३ औं संस्करण २९ मार्चबाट सुरु हुने तालिका थियो । कोरोनाको कारण अप्रिल १५ बाटको नयाँ मिति तय गरिएको थियो । तर, भारत सरकारले लकडाउनको अवधि थप गरेसँगै आईपीएल अनिश्चित कालका लागि स्थगित गरिएको थियो ।
यस्तै पटेलले आईपीएल बन्द रंगशालामा हुने समेत बताए ।
'विश्वकप क्रिकेट खाली रंगशालामा गराउन सकिदैन । तर, आईपीएल लिग हो । यसलाई बन्द रंगशालामा खेलाउन सकिन्छ । प्रतक्ष प्रशारण कम्पनि र खेलाडीहरु तयार छन् । किनकी उनीहरु खेल्न चाहन्छन्,' पटेलले भने ।
अष्ट्रेलियामा आयोजना हुने विश्वकपबारेको निर्णय आईसीसीले अर्को महिना गर्नेछ । तर, अष्ट्रेलियामा विश्वकप हुने सम्भावना बढेको छ ।
अष्ट्रेलिया सरकारले हालै रंगशालामा १० हजार दर्शकलाई खेल हेर्न अनुमति दिईसकेको छ ।