एजेन्सी । वेष्ट इण्डिज क्रिकेट टिमका कप्तान जासन होल्डरले इंग्ल्यान्डमा सुरक्षित महशुस गरेको बताएका छन् ।
कोरोना भाईरसको महामारीबीच इंग्ल्यान्ड भ्रमणमा रहेका कप्तान होल्डरले इंग्ल्यान्ड आईपुगेपछि सुरक्षित महशुस गरेको बताएका हुन् ।
बीबीसीसँग कुरा गर्दै कप्तान होल्डरले इंग्ल्यान्ड भ्रमणका लागि सबै खेलाडी सहज रुपमा तयार भएको पनि बताए ।
'धेरै मानिसहरू क्रिकेटको लागि कराउँदै थिए । हामी यस समरमा इंग्ल्यान्ड टुरका लागि योजना बनाईरहेका हुन्थ्यौ,' बीबीसीसँग होल्डरले भने, 'हामी यहाँ आउने सम्भावनाबारे कुरा गर्दा सबै सहज थिए । र, हामी यहाँ छौँ ।'
होल्डरको कप्तानीमा वेष्ट इण्डिजको टिम मंगलबार इंग्ल्यान्ड आईपुगेको थियो ।
वेष्ट इण्डिजले घरेलु टिमसँग तीन खेलको टेष्ट सिरिज खेल्नेछ ।
दुई टोलीबीचको पहिलो टेष्ट जुलाई ८ मा साउथह्याम्पटनको द बल मैदानमा सुरु हुनेछ ।
यस्तै ओल्ड ट्राफोर्डमा हुने दोस्रो टेष्ट जुलाई १६ र तेस्रो खेल जुलाई २४ मा सुरु हुनेछ ।
२८ वर्षे होल्डरले इंग्ल्यान्ड र वेल्स क्रिकेट बोर्डको कामको तारिफ समेत गरे । उनले होटलमा प्रयाप्त सेनीटाईजर, ग्लोभ्स, थर्ममिटरहरु भएको समेत बताए ।
'यी चीजहरु आरामको चिन्ह हो यसले सहज बनाउछ । यदि यस्ता कुराहरु हुन्थेन भने हामी सुरक्षित छौँ भनेर आश्चर्यचकित बनाउथ्यो । र, हामी ईसीबीलाई धन्यवाद दिन सक्दैनथ्यौं,' होल्डरले भने ।