एजेन्सी । पाकिस्तानका पूर्व क्रिकेटर शोयब अख्तरले भारतका पूर्व ब्याट्सम्यान सौरभ गांगुली साहसी ब्याट्सम्यान भएको बताएका छन् ।
एक अन्तरक्रिया कार्यक्रममा बोल्दै फास्ट बलर अख्तरले आफ्नो क्रिकेट करियरमा सामना गरेको ब्याट्सम्यानमध्ये गांगुली साहसी भएको बताएका हुन् ।
'धेरै मानिसहरु सोच्ने गर्छन् कि गांगुली कायर थिए । तर, एक बलरको रुपमा मलाई सोध्नु भयो भने उनी मेरो करियरको साहसी ब्याट्सम्यान थिए,' हेलो एपमा अख्तरले भने, 'उनले मेरो बलिङमा आक्रामक सट नहान्न सक्लान् । तथापी केहि पटक मैले उनको छातीमा हिर्काउन असफल भए । तर, उनी सधै ओपनर भएर आउथे ।'
विश्व क्रिकेटमा अख्तरलाई सबैभन्दा खतरनाक बलरको रुपमा लिने गरिन्छ । ४४ वर्षे अख्तरले पाकिस्तानका लागि टेष्टमा १ सय ७८, एकदिवसीयमा २ सय ४७ र टी-ट्वान्टीमा १९ विकेट लिएका थिए ।
तर, अख्तरले गांगुलीविरुद्ध बलिङ गर्नु आफ्नो लागि कठिन भएको समेत बताए । यस्तै उनले गांगुली भारतका साहसी कप्तान भएको समेत बताए ।
'उसले मलाई एक बहादुर मानिस जसरी सामना गर्थे । उनी भारतका लागि साहसी कप्तान समेत हुन्,' अख्तरले भने ।
भारतीय क्रिकेट टिमका पूर्व कप्तान गांगुली अहिले भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) को अध्यक्ष रहेका छन् ।
गांगुलीले भारतका लागि १ सय १३ टेष्टमा ७ हजार २१२ रन र ३ सय ११ एकदिवसीयमा ११ हजार ३६३ रन बनाएका थिए ।