एजेन्सी । सचिन तेन्दुलकर र क्रिकेटमा कीर्तिमान एक अर्काका परिपुरक जस्तै रहे । मास्टर ब्लास्टर सचिनले आफ्नो करियरमा थुप्रै कीर्तिमान बनाए, जुन आउने पुस्ताले तोड्लान भनेर सोच्न समेत कठिन छ ।
दुई दशक क्रिकेटमा बिताएका सचिनले २ सय टेष्ट क्रिकेटमा १५ हजार ९ सय २१ रन तथा ४ सय ६३ एकदिवसीय क्रिकेटमा १८ हजार ४ सय २६ रन बनाएका छन् ।
सचिनको करियरको ठूलो सफलत मध्यको एक कीर्तिमान हो, सय शतक । टेष्टमा ५१ शतक र एकदिवीयमा ४९ शतक प्रहार गरेका सचिनले करियरमा सयौं शतकको कीर्तिमान बनाएका छन् । हालसम्म सचिन बाहेक कुनै पनि खेलाडीले करियरमा सय शतक प्रहार गरेका छैनन् ।
सन् २०११–१२ मा सचिनले यो उचाइ छुदा क्रिकेटमा चर्चाको विषय बनेको थियो ।
सन् २०११ को विश्वकपमा दक्षिण अफ्रिकाविरुद्ध ९९ औं अन्तर्राष्ट्रिय शतक प्रहार गरिसकेका सचिनले इंग्ल्याण्डविरुद्ध ९० रन बनाएर खेल्दै थिए । ईतिहास रच्न सचिन मात्र १० रनले पछि थिए ।
तर नर्भस नाइन्टीमा सचिन टिम ब्रेस्नानको बलमा एलबीडब्लुको सिकार हुन पुगे ।
सारा क्रिकेट समर्थक निरास भए, क्रोधित भए । त्यसमा अझ भारतीय समर्थक त अम्पायरमाथि नै खनिन थालेका थिए । त्यो दिन सम्झँदै ब्रेस्नान र अम्पायर रड टकरले आफुहरुलाई ज्यान लिने धम्की आएको बताउँछन् ।
हालै एक अन्तरवार्तामा ब्रेस्नानले सो विकेट पछि आफुले ज्यान लिने धम्की पाएको खुलासा गरेका छन् । उनले समर्थकबाट बलले लेग स्टम्प मिस गर्न भन्दै ज्यान लिने धम्की दिएको बताए ।
अवस्था यति जटिल बन्यो कि अम्पायर टकरले पुलिसको सुरक्षा लिन बाध्य भएका थिए ।
‘हामी दुवैलाई ज्यान मार्ने धम्की आएको थियो । लामो समसम्म दुवैले धम्की खेप्नु परेको थियो । मैले ट्वीटरमा धम्की पाएको थिए भने टकरले घरैमा चिठी तथा थुप्रै पत्रमा ज्यान मार्ने पाएका थिए ।’ ब्रेस्नानले भने, ‘केही महिनाअघि म उनीसँग भेटेको थिए । उनले पुलिसको सुरक्षा लिएर घरमा बसेको बताएका थिए ।’
तेन्दुलकरले सन् २०१२ को एसिया कपमा बंगलादशविरुद्ध शतक बनाउँदै सयौ शतक पूरा गरेका थिए । सन् २०१३ मा वेष्ट इन्डिजविरुद्ध टेष्ट क्रिकेट खेल्दै अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए ।