काठमाडौं । प्रदेश नम्बर-२ क्रिकेट संघले कोरोना भाईरसको महामारीको कारण स्थगित क्रिकेट गतिविधि अनलाईनबाट सुचारु गर्ने भएको छ ।
प्रदेश-२ क्रिकेट संघले खेलाडी दर्ता देखि अम्पायर तालिम र खेलाडीको फिटनेस प्रशिक्षण लगायतका काम अनलाईनबाट गर्ने निर्णय गरेको छ ।
नेपाल क्रिकेट संघ (क्यान) का कोषाध्यक्ष रोशन बहादुर सिंहको उपस्थितिमा शुक्रबार अनलाईनमार्फत बसेको प्रदेश-२ को बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले आफ्नो मातहतमा रहेको ८ वटै जिल्लाका खेलाडीको दर्ता अनलाईनबाट गराउने निर्णय गरेको छ । इन्टरनेटको पहुंच नभएका खेलाडीले भने आफ्नो जिल्ला क्रिकेट संघमा लिखित फाराम भर्न पाउने प्रदेश २ क्रिकेट संघका कोषाध्यक्ष आयुष श्रेष्ठले जानकारी गराए ।
यस्तै प्रदेश क्रिकेटले खेलाडीको आवश्यकता र भविष्यको मध्यनजर गर्दै यही जेष्ठ २५ गते खेलाडीसँग अन्तरक्रिया कार्यक्रम गर्ने जनाएको छ ।
प्रदेश क्रिकेटले अम्पाएर तथा स्कोरीङ तालिमसंगै खेलाडीको फिटनेस तालिम समेत संचालन गर्ने तयारी गरेको छ ।
नेपाल सरकारको लकडाउन मोडालिटी पालना गर्दै यस कार्यक्रमहरु संचालन गरिने संघले जनाएको छ ।