एजेन्सी । अमेरिकाका बास्केटबल लिजेण्ड माइकल जोर्डनले जातीय समानता र सामाजिक न्यायका लागि लडिरहेको समूहलाई १ सय मिलियन अमेरिकी डलर आर्थिक सहयोग गर्ने भएका छन् ।
एनबीए लिजेण्ड जोर्डनले एक विज्ञप्ति निकाल्दै जातीय विभेदविरुद्ध लड्न आगामी १० वर्ष भित्र १ सय मिलियन डलर खर्च गर्ने बताएका हुन् ।
जोर्डनले सहयोग गर्ने रकम जातीय भेदभावविरुद्ध लडिरहेको विभिन्न संस्थाहरुलाई उपलब्ध गराईनेछ ।
'हामी माइकल जोर्डन र जोर्डन ब्राण्ड आगामी १० वर्षमा १०० मिलियन अनुदान दिन प्रतिवद्ध भएको घोषणा गर्दछौं । हामी समुदाय, सरकार र नागरिक नेताहरूसँग मिलेर दिगो प्रभाव सिर्जना गर्नका सामेल हुनुपर्दछ,' जोर्डनका अध्यक्ष क्रेग विलियम्सले विज्ञप्तिमा भनेका छन्, 'काला समुदायको लागि वास्तविक प्रभाव पार्न हामीले अझ धेरै कामहरू गर्न बाँकी छ । हामी यो जिम्मेवारीलाई अँगाल्छौं ।'
एक अश्वेत नागरिक जर्ज फ्लोयडको मृत्युपछि अमेरिकामा अहिले रंगभेदविरुद्धको आन्दोलन चर्किएको छ । फ्लोयडको अमेरिकी प्रहरीको नियन्त्रणमा रहदा मृत्यु भएपछिको आन्दोलनले हिंसात्मक रुप लिएको छ ।
मिनियापोलिस शहरमा दुई साता अघि प्रहरीको नियन्त्रणमा रहेको बेला फ्लोयडको मृत्यु भएको थियो । प्रहरी अधिकारीले भुइमा लडेका ४६ वर्षीय फ्लोयडको घाँटीमा थिचेपछि उनको मृत्यु भएको थियो ।
उनको मृत्युपछि काला जातिका मानिसलाई प्रहरीले घाँटी थिचेर मारेको भन्दै अहिले विश्वभर विरोध भइरहेको छ । जसमा विश्वका खेलाडीहरुले समेत समर्थन गरिरहेका छन् ।