एजेन्सी । भारतका पूर्व ब्याट्सम्यान भीभीएस लक्ष्मणले टेष्ट क्रिकेटमा वीरेन्द्र सहवाग सबैभन्दा विनाशकारी ओपनर भएको बताएका छन् ।
सामाजिक संजाल ट्वीटरबाट लक्ष्मणले भारतीय टिमका पूर्व सहकर्मी सहवागको प्रशंसा गर्दै उनी विनाशकारी ओपनर भएको बताएका हुन् ।
'उच्च क्वालिटीका बलरहरुविरुद्ध धावा बोल्दै सहवागले आफुलाई टेष्ट इतिहासकै विनाशकारी ओपनरको रुपमा स्थापित गरे,' ट्वीटरमा लक्ष्मणले भनेका छन्, 'सहवागको अथाह आत्मविश्वास र सकारात्मक मनोबल थियो ।'
४१ वर्षीय ब्याट्सम्यान सहवाग टेष्ट क्रिकेटको एकै इनिङ्समा ३०० रन बनाउने पहिलो भारतीय ब्याट्सम्यान हुन् ।
सन् २०१५ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका सहवागले टेष्टमा भारतका लागि ८ हजार ५८६ रन बनाएका छन् ।
भारतका पूर्व उपकप्तान समेत रहेका उनले एकदिवसीयमा ८ हजार २ सय ७३ रन बनाएका थिए ।