काठमाडौं । सञ्जय स्मृति प्रतिष्ठानले कोरोना महामारीबिरुद्धको अभियानमा सहयोग गर्न भन्दै विभिन्न स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।
प्रतिष्ठानले पर्वतको कुश्मा नगरपालिकास्थित पकुवा स्वास्थ्य चौकीलाई कोरोना भाईरसबिरुद्धको अभियानमा प्रयोगमा आउने स्वास्थ्य सामाग्री सहयोग उपलब्ध गराएको हो ।
नेपाल भलिबल संघकी उपाध्यक्ष समेत रहेकी निरोज मास्केले प्रतिष्ठानका तर्फबाट स्वास्थ्य चौकीलाई थर्मल गन, पीपीई सेट, सेनिटाईजर, मास्क र पन्जा उपलब्ध गराएकी हुन् ।
मास्केले वडा अध्यक्ष शिव पौडेललाई स्थानीय क्षेत्रमा आवश्यक देखिएको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेकी थिईन् ।
जिल्लामा स्वास्थ्य सामाग्रीको अभाव देखिएसंगै संकटको समयमा आफुहरुले सहयोग गरेको प्रतिष्ठानकी अध्यक्ष मास्केले खेलपाटीलाई बताईन् ।
'महामारीको समय बाहिर स्थानबाट जिल्ला आउने मानिसको संख्या बढ्दो छ । तर आवश्यक स्वास्थ्य सामाग्रीको समस्या देखिएको छ । सोही कारण प्रतिष्ठानको तर्फबाट आवश्यक सहयोग स्थानीय स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिएको हो ।' उनले भनिन् ।
पछिल्लो समय पर्वतका विभिन्न स्थानमा कोरोना भाईरसबिरुद्ध प्रयोग हुने स्वास्थ्य सामाग्रीको अभाव देखिएको छ ।
'संकटको समयमा प्रतिष्ठानको तर्फबाट सहयोग गर्न पाउँदा खुसी लागेको छ ।' मास्केले भनिन् ।
प्रतिष्ठानले खेलकुद सहित विभिन्न सामाजिक कार्यमा सहयोग गर्दै आएको छ । प्रतिष्ठानले यसअघि भुकम्प र तराईका विभिन्न क्षेत्रमा आएको बाढीको समय प्रभावित क्षेत्रमा पुगेर खाद्यान्न सहित आर्थिक सहयोग गरेको थियो ।
प्रतिष्ठानले हरेक बर्ष भलिबल क्षेत्रका दुई खेलाडीलाई बर्ष खेलाडीको रुपमा नगद सहित सम्मान गर्दै आएको छ ।
भलिबल संघकी उपाध्यक्ष मास्केले प्रतिष्ठानको तर्फबाट खेलकुद सहित विभिन्न सामाजिक कार्यमा सहयोग गर्दै आएकी छिन् ।