एजेन्सी । ठुला प्रतियोगितामा लागेको चार वर्षे प्रतिबन्धविरुद्ध रुसले गरेको अपीलको सुनुवाई नोभेम्बरमा हुने भएको छ ।
खेलकुदको न्यायिक निकाय कोर्ट अफ आर्बिटेशन फर स्पोर्ट्स (कास) ले रुसको अपीलको सुनुवाई नोभेम्बरमा हुने जनाएको छ ।
कासले सुनुवाई नोभेम्बरको २-५ मा हुने जनाएको छ । यस अघि सुनुवाई जुलाईमा हुने बताईएको थियो ।
डोपिङ परिक्षणमा असफल भएपछि विश्व एन्टी डोपिङ एजेन्सी (वाडा)ले रुसलाई मुख्य खेल प्रतियोगितामा चार वर्षको प्रतिबन्ध लगाएको थियो ।
प्रतिबन्धको निर्णय सदर भएमा रुसले टोकियो ओलम्पिक, पाराओलम्पिक र सन् २०२२ मा विश्वकप फुटबल खेल्न पाउने छैनन् ।
तर,डोपिङबाट मुक्त रहेका खेलाडीले स्वतन्त्र झण्डा मुनी अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागीता जनाउन पाउनेछन् ।
पछिल्लो समय रुसका खेलाडी डोपिङमा असफल हुँदै आईरहेका छन् ।
डोपिङमा असफल भएकै कारण एथ्लेटिक्सको सर्बोच्च निकाय इन्टरनेशनल एसोसिएसन अफ एथ्लेटिक्स फेडेरेशन (आइएएएफ) ले रसियन एथलेटिक्स खेलाडीमाथि सन् २०१५ बाट प्रतिबन्ध गरेको छ ।