एजेन्सी । अमेरिकी बक्सर फ्लोयड मेवेदरले प्रहरीको नियन्त्रणमा ज्यान गुमाएका अमेरिकी नागरिक जर्ज फ्लोयडको दाहसंस्कार गर्दा लाग्ने खर्च व्यहोर्ने भएका छन् ।
पाँच पटकको विश्व च्याम्पियन मेवेदरले मंगलबार जर्जको दाहसंस्कार गर्दा लाग्ने खर्च व्यहोर्ने घोषणा गरेका हुन् । जर्जको परिवारले मेवेदरको प्रस्ताव स्वीकार गरेको समेत बताईएको छ ।
अमेरिकाको मिनियापोलिस शहरमा गत सोमबार प्रहरीको नियन्त्रणमा रहेको बेला फ्लोयडको मृत्यु भएको थियो ।
प्रहरी अधिकारीले भुइमा लडेका ४६ वर्षीय फ्लोयडको घाँटीमा घुँडाले ९ मिनेटसम्म थिचेपछि मृत्यु भएको थियो ।
काला जातिका पुरूषलाई प्रहरी अधिकारीले घाँटी थिचेर मारेको भन्दै अहिले विश्वभर विरोध भइरहेको छ । अमेरिकामा आन्दोलन चर्किएको छ ।
पछिल्लो समय विश्वका खेलाडीहरुले फ्लोयडले न्याय पाउनुपर्ने भन्दै विरोध गरिरहेका छन् ।