एजेन्सी । इंग्ल्यान्डका फास्ट बलर लिएम प्लुन्केटले भविष्यमा अमेरिकाको राष्ट्रिय टिमबाट खेल्न आफु खुला भएको बताएका छन् ।
बीबीसी रेडियोसँग कुरा गर्दै प्लुन्केटले आफु भविष्यमा अमेरिकाको खेलाडी बन्ने बताएका हुन् ।
'त्यहाँ पनि क्रिकेटमा संलग्न हुनु राम्रो हुन्छ,' प्लुन्केटले भने, 'मेरो बच्चाहरु अमेरिकन हुन सक्छन् । त्यसैले उनीहरुलाई म इंग्ल्यान्ड र अमेरिकाका लागि खेलेको छु भन्दा रमाईलो हुन्छ ।'
३५ वर्षीय बलरको श्रीमती अमेरिकी हुन् । त्यसैले उनीहरु अमेरिका सर्ने योजनामा समेत रहेका छन् ।
'यदि म त्यहाँ जान्छु । अमेरिकाको नागरिक हुन्छु । ग्रिन कार्ड पाउछु भने विकासमा सहयोग गर्न सक्छु । यसमा संलग्न हुन पाउँदा खुसी लाग्छ,' प्लुन्केटले थपे ।
इंग्ल्यान्डको विश्वकप विजेता टिमका सदस्य प्लुन्केट पछिल्लो समय टिम बाहिर रहदै आएका छन् ।
इंग्ल्यान्डले हालै प्रशिक्षणमा बोलाएको ५५ खेलाडीको सूचीमा उनी अटाएका छैनन् ।
'म अंग्रेज हु । म सधै अंग्रेज हुन्छु । तर, यदि फिट हुन्छु र उच्च स्तरको खेल्ने अवसर हुन्छ भने म किन नलिनु,' उनले भने ।
अमेरिकाले हालै एकदिवसीय अन्तर्राष्ट्रिय प्राप्त गरेको छ । अमेरिकाले टिम राम्रो बनाउन विदेशी खेलाडीहरु बोलाईरहेको छ ।
अमेरिकाले वेष्ट इन्डिजका पूर्व ब्याट्सम्यान जाभियर मार्शल, इंग्ल्यान्डका इयान होलाण्ड र दक्षिण अफ्रिकाका पूर्व खेलाडी रुस्टी थोरणलाई बोलाईसकको छ ।