एजेन्सी । वेस्ट ईन्डिजको ब्याट्सम्यान क्रिस गेलले क्रिकेटमा समेत रंगभेद हुने गरेको बताएका छन् ।
अमेरिकामा एक अश्वेत नागरिकको प्रहरी कारबाहीमा निधन भएपछि विश्वभर घटनाको विरोध भएको छ । ४६ बर्षका जर्ज फ्लायडको निधनपछि पुरै अमेरिकामा मानिसहरु सडकमा उत्रिएर विरोध गरेका छन् ।
फ्लायडको निधनको विश्वभर विभिन्न क्षेत्रबाट विरोध समेत भईरहेको छ । युरोपको शीर्ष डिभिजनका फुटबल खेलाडी तथा क्लबले समेत खेलको दौरान फ्लायडको निधनको विरोध गरेका छन् ।
सोही प्रशंगमा गेलले समेत फुटबल मात्र नभएर क्रिकेटमा समेत रंगभेद हुने गरेको बताएका हुन् ।
फ्लायडको निधनपछि अमेरिकामा पुलिस र सरकारलाई अश्वेत विरोधी भएको आरोप लगाईएको छ । २५ मेमा मिनियापोलिसबाट सुरु भएको विरोध प्रर्दशन अमेरिका सहित विश्वभर फैलिरहेको छ ।
हरेक क्षेत्रका सफल ब्यक्तिले घटनाको खुलेर विरोध गरेका छन् । यही दौरान क्रिस गेलले समेत आफ्नो भनाई राखेका हुन् ।
उनले सामाजिक सञ्चाल ईस्टाग्राममा स्टोरी राख्दै आफ्नो भनाई राखेका छन् ।
उनले लेखेका छन्, 'कोही अरुका जिन्दगी जस्तै अश्वेत मानिसको जिन्दगीले समेत अर्थ राख्छ । नश्लवादी मानिसलाई लाज लाग्नुपर्छ । मैले संसारभर यात्रा गरेको छु, मैले आफै नश्लीय टिप्पणीको अनुभव गरेको छु । किनकी म अश्वेत हुँ । खाली फुटबलमा मात्र हैन, क्रिकेटमा समेत यसबाट अछुतो छैन । अश्वेत टिमभित्र सधै हताशामात्र हात लाग्छ । अश्वेत शक्तिशाली हुन्छन्, मलाई गर्व छ ।'
खेलकुदमा समेत विभिन्न समयमा रंगभेदी टिप्पणी देखिने र सुनिने गरेको छ । युरोपको शीर्ष डिभिजनको फुटबलमै खेलाडीमाथि दर्शकले रंगभेदी टिप्पणी गर्ने गरेका छन् ।
गेलले फुटबलमा मात्र नभएर क्रिकेटमा समेत रंगभेदी ब्यवहार हुने खुलासा गरेका हुन् ।