एजेन्सी । पाकिस्तानका युवा फास्ट बलर नसीम शाहले भारतविरुद्ध क्रिकेट खेल्न चाहेको बताएका छन् ।
नसीमले भारतविरुद्ध क्रिकेट खेल्दै आधुनिक क्रिकेटका उत्कृष्ट खेलाडी विराट कोहलीलाई आफ्नो बलिङको स्वाद चखाउन मन रहेको बताएका छन् ।
नसीमले टेष्ट क्रिकेटमा अष्ट्रेलियाविरुद्ध १६ वर्षको उमेरमा डेब्यु गरेका थिए । कलिलै उमेरमा गरेको उनको उत्कृष्ट प्रदर्शनबाट विश्व क्रिकेट चकित परेको थियो ।
यस वर्ष अन्तराष्ट्रिय क्रिकेटमा ह्याट्रिक लिने विश्वका कान्छा खेलाडी समेत बनेका थिए । बंगलादेशविरुद्धको टेष्ट खेलमा नसीमले ह्याट्रिक विकेट लिंदै कीर्तिमान बनाएका थिए ।
हालै एक अन्तर्वार्तामा नसीमले पाकिस्तानको चर्चित प्रतिद्वन्दी भारतविरुद्ध क्रिकेट खेल्न चाएको बताएका छन् । उनले यसै वर्ष आयोजना हुने टी-ट्वान्टी विश्वकप तथा एसिया कपमा भारतसँग खेल्न पाउने आशा गरेका छन् ।
'भारतविरुद्ध पाकिस्तान सधै विशेष हुन्छ र मलाई त्यो खेलमा हिरो र भिलेन बन्न सकिने बताउदैं आएका छन्,' नसीमले एक अन्तर्वार्तामा भनेका छन्, 'यस खेल खास हुने गर्छ किनकि यी दुई राष्ट्रबीच विरलै खेल हुन्छ । जुनै परिस्थितिमा पनि म त्यस खेलको पर्खाइमा छु । भारतविरुद्ध राम्रो बलिङ गर्छु र समर्थकलाई निराश पार्ने छैन ।'
नसीमले भारतीय कप्तान विराट कोहलीविरुद्ध बलिङ गर्न आफु नडराउने समेत बताए ।
'विराटको सन्दर्भमा, म उनलाई सम्मान गर्छु तर डराउँदिन । उत्कृष्टविरूद्ध बलिङ गर्न जहिल्यै कठिन हुन्छ तर त्यो नै आफ्नो क्षमता देखाउने अवसर हो । जुनै परिस्थितिमा पनि भारत र विराटविरुद्ध खेल्न चाहान्छु,' उनले भने ।