एजेन्सी । भारतीय क्रिकेटमा महेन्द्र सिंह धोनीलाई एक सफल कप्तानको रुपमा लिने गरिन्छ ।
धोनीको कप्तानीपछि भारत अप्ठ्यारोमा पर्ने सबैले अनुमान गरेका थिए । तर, धोनीले कप्तानी छाडेपछि विराट कोहलीको कप्तानीमा भारत खराब लयमा गुज्रनु परेको छैन ।
धोनीले भारतीय टिमको कप्तानी सन् २००७ बाट सम्हालेका थिए । सन् २०१५ मा टेष्ट कप्तानी त्यागेका धोनीले सन् २०१६ मा सबै फर्म्याटको कप्तानी छाड्दै विराटलाई जिम्मेवारी दिएका थिए ।
कप्तानी छाडेपनि धोनीले खेल्न भने छाडेका छैनन् । धोनीले विराटको कप्तानीमा पछिल्लो विश्वकपसम्म खेलेका थिए ।
धोनी उपस्थितिले विराटलाई मैदानमा कप्तानी निर्णय गर्न सहज हुँदै आएको छ । हरेक निर्णयमा धोनीको उपस्थिति हुने गरेको थियो ।
त्यसैले विराटले आफु कप्तान बन्नुमा धोनीको हात भएको बताएका छन् ।
विराटले भारतका अर्का खेलाडी रविचन्द्रन आश्विनसँग इन्स्टाग्राम लाईभमा कुरा गर्दै धोनीले आफुलाई भारतको कप्तान बनाउनुमा ठुलो मद्दत गरेको बताए ।
'मलाई लाग्छ लामो समयसम्म अवलोकन गरेपछि धोनीले मलाई कप्तान बनाउन ठुलो भूमिका खेलेका थिए । सजिलै छनोटकर्ता सामु गएर विराटलाई कप्तान बनाउनु पक्कै भनेका हैनन् । धोनीले नै सबै जिम्मेवारी लिएर मलाई प्रस्ताव गरेका हुन्,' विराटले लाईभमा भने ।
३१ वर्षे विराटले धोनी कप्तान हुँदा आफूले मैदानमा थुप्रै सुझावहरू दिने गरेको समेत बताए । त्यहिँ स्वभाबका कारण धोनीले आफूलाई कप्तानको लायक सम्झेको उनले बताए ।
'म संधै मैदानमा धोनीको साथमा हुन्थे । हामीले यस्तो गर्न सक्छौं, यस्तो गरौं भनेर सुझाब दिन्थें,' कोहली भने, 'जे सुझाव दिन्थे धेरै नकारिदिन्थे तर निर्णय लिँदा सधै सल्लाहमा हुन्थ्यो । त्यसको कारण हुनसक्छ धोनीले मलाई कप्तानको भार सम्हाल्न योग्य देखेका थिए ।'
यद्दपी विराटलाई पहिले नै भारतको भावी कप्तानको रुपमा लिने गरिएको थियो । किनकि विराटले भारतलाई यु-१९ विश्वकपको उपाधि दिलाएका थिए ।