एजेन्सी । वेस्ट ईन्डिजको क्रिकेट बोर्डले खेलाडी र कर्मचारीको तलब रकममा ५० प्रतिशतले कटौती गर्ने निर्णय गरेको छ ।
कोरोना भाईरसका कारण वेस्ट ईन्डिजले आफ्ना खेलाडीको तलब अस्थायी रुपमा आधा कटौती गर्ने निर्णय लिएको हो ।
बोर्डले कोरोना महामारीका कारण आर्थिक चुनौती पार गर्न सो निर्णय लिनु परेको जनाएको छ ।
अन्तराष्ट्रिय क्रिकेट कोरोनाका कारण निलम्बित अवस्थामा रहेको छ । धेरै क्रिकेट बोर्डले वित्तिय संकट झेलिरहेका छन् ।
कोरोनाकै कारण खेलहरु सामान्य अवस्थामा फर्कने स्पष्ट चित्र देखिएको छैन । सोही कारण बोर्डले खेलाडी, कर्मचारी, अम्पायर र प्रशिक्षकको तलबमा ५० प्रतिशत कटौती गर्ने निर्णय लिएको हो ।
बोर्डले तलब कटौतीको निर्णय जुलाई एकबाट सुरु हुने बताएको छ । अस्थायी रुपमा कटौती गरिएको तलब ३ देखि बढीमा ६ महिनासम्म रहने अपेक्षा गरिएको छ ।
'यो निर्णय आर्थिक चुनौतीको सामना गर्न आवश्यक देखिएको छ । अहिले संसारभर कुनैपनि क्रिकेट प्रतियोगिता हुन सकेको छैन ।' बोर्डले भनेको छ ।
वेस्ट ईन्डिजले विश्वका अन्य अन्तराष्ट्रिय खेल संगठन जस्तै आफ्नो बार्डले समेत आम्दानीमा ठुलो क्षती व्यहोर्नु परेको बताएको छ ।
वेस्ट ईन्डिजले जुलाईमा ईङ्ल्याण्डमा तीन म्याचको टेष्ट सिरिज खेल्दैछ । जसलाई बोर्डले भर्खरै अनुमति समेत प्रदान गरेको छ ।
दुवै टिमबीचको सिरिज यसअघि जुनमा खेल्न तय गरिएको थियो ।