एजेन्सी । इंग्ल्यान्डमा अगष्ट महिना अघि कुनै घरेलु क्रिकेट प्रतियोगिता नहुने भएको छ ।
इंग्ल्यान्ड र वेल्स क्रिकेट बोर्डले अगष्ट १ अघि कुनै घरेलु क्रिकेट प्रतियोगिता सुरु नगर्ने निर्णय लिएको हो ।
बोर्डले अगष्ट महिना नजिकैबाट मात्र रातो र सेतो बलको प्रतियोगिताबारे सोच्ने जनाएको छ ।
विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाईरसको कारण बोर्डले सरकारको गाइडलाइन पालना गर्दै यस्तो निर्णय लिएको जनाएको छ ।
यद्दपी अभ्यासको लागि भने सामाजिक दुरी कायम गरी नेट र मैदानमा अभ्यास गराउने बोर्डले तयारी गरेको छ । अभ्यासमा महिला र पुरुष क्रिकेटरलाई नै समावेश गरिने बोर्डले जनाएको छ ।
'हामीले यस समय धेरै पाठ सिकेका छौं र सिक्दै छौं । सुरक्षामा उपारहरु अन्तर्राष्ट्रिय क्रिकेट तथा घरेलु क्रिकेट प्रतियोगितामा अपनाउनु पर्नेछ चाहे त्यो बन्द रंगशालामा खेलिएको किन नहोस्,' बोर्डका प्रमुख कार्यकारी टम ह्यारीसनले भने, 'धेरै राष्ट्रमा खेलाडीहरू नेटमा फर्किएका छन् भन्ने सुन्दा रमाइलो लाग्छ । जब साना विद्यार्थीहरू आउने हप्ता देखि विद्यालय जान सुरु गर्नेछन् हामी पनि गाइडलाइन पालना गर्दै क्रिकेट फर्काउने तयारी गर्ने छौं ।'
यस्तै प्रमुख कार्यकारी ह्यारिसनले इंग्ल्यान्डमा यसै सिजन नै इंग्ल्यान्डमा क्रिकेट फर्कने विश्वास रहेको बताए ।