एजेन्सी । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले अष्ट्रेलियामा यसै वर्ष तय भएको आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेट आयोजनाबारे जुन १० पछि अन्तिम निर्णय गर्ने भएको छ ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरसको कारण अष्ट्रेलिया विश्वकप हुने नहुनेमा अन्योलता बढीरहेको बेला आईसीसीले जुन १० पछि ठोस निर्णय गर्ने जनाएको छ ।
भिडियो च्याटको सहायताबाट बिहिबार बसेको आईसीसीको बोर्ड बैठकले विश्वकपसहित अन्य महत्वपूर्ण एजेण्डाबारेको छलफल जुन १० को बोर्ड बैठक सम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो ।
तर, बोर्ड बैठकले आईसीसीको गोपनियता उलंघनबारे अनुसन्धान सुरु गर्ने निर्णय भने गरेको छ ।
यस्तै आईसीसीको नयाँ अध्यक्षको निर्वाचनबारे पनि जुनपछि निर्णय हुने भएको छ । यस अघि आईसीसीले टी-ट्वान्टी विश्वकप र नयाँ अध्यक्ष चयनबारे बिहिबार निर्णय हुने जनाएको थियो ।
अध्यक्ष शशांक मनोहरको दुई वर्षे कार्यकाल यसै वर्ष सकिदैछ । र, उनले आफ्नो कार्यकाल सकिएपछि पद छाड्ने घोषणा गरिसकेका छन् ।
आईसीसीको आगामी जुलाईको अन्तिममा वार्षिक साधारणसभा हुँदैछ । त्यस समयसम्म आईसीसीले नयाँ अध्यक्ष चयन गर्ने बताईएको छ ।