काठमाडौं । सरकारले नयाँ आर्थिक वर्षका लागि युवा तथा खेलकुद मन्त्रालयलाई २ अर्ब ३६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
संघीय संसदको बिहिबारको बैठकमा अर्थमन्त्री युवराज खतिवडाले युवा तथा खेलकुद मन्त्तालयका लागि २ अर्ब ३६ करोड रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिएका छन् ।
सरकारले नयाँ आर्थिक वर्षका लागि खेलकुद क्षेत्रको बजेट घटाएको हो । चालू आर्थिक वर्षमै मन्त्रालयलाई ३ अर्ब ९९ करोड रुपैयाँ बढी बजेट विनियोजन गरिएको थियो ।
त्यसअघिको आर्थिक वर्ष २०७५÷७६ मा सरकारले ४ अर्ब १८ करोड रुपैयाँ बजेट मन्त्रालयलाई विनियोजन गरेको थियो ।
अर्थमन्त्री खतिवडाले खेलकुद पूर्वाधारलाई केन्द्रमा राख्दै बजेट विनियोजन गरिएको जानकारी दिए ।
उनले सबै स्थानीय तहमा खेल ग्रामको कार्यक्रमलाई निरन्तरता दिदै नवौं राष्ट्रिय खेलुकदका लागि गण्डकी प्रदेश, कर्णाली प्रदेश, उच्च पर्वतीय खेलकुद केन्द्र निर्माणका लागि बजेट विनियोजन गरिएको बताए ।
सरकारले अन्तराष्ट्रिय क्रिकेट मैदान, कभर्डहल र प्रादेशिक रंगशाला निर्माणमा समेत बजेट विनियोजन गरिएको बताएको छ ।
सरकारले कोरोनाका कारण यस वर्ष युवा तथा खेलकुद मन्त्रालयलाई १ अर्ब ६३ करोडको सिलिङ तोकेको थियो । कोरोनाको प्रभाव बढ्दै गएपछि सरकारले तोकिएको सिलिङमा समेत १५ प्रतिशत बजेट कम गर्न मन्त्रालयलाई पत्राचार गरेको थियो ।
कम्तिमा अघिल्लो आर्थिक बर्षकै बजेट खेलकुदमा राख्नुपर्ने माग गर्दै मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले लबिङ गरेका थिए ।
नीति तथा कार्यक्रमकै निरन्तरता - खेलकुदमन्त्री
युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले नयाँ आर्थिक बर्षका लागि विनियोजित बजेटले खेलकुद क्षेत्रलाई सम्बोधन गरेको बताएका छन् । उनले बजेट नीति तथा कार्यक्रमकै निरन्तरता रहेको बताए ।
‘प्रतिकुल परिस्थितीमा सरकारले अघि सारेको नीति तथा कार्यक्रमलाई निरन्तरता दिने हिसाबले बजेट आएको छ ।’ संसद भवनबाट बाहिरिने क्रममा खेलपाटीसंग मन्त्री विश्वकर्माले भने ।
उनले प्रतिकुल समयमा आएको बजेटले खेल क्षेत्रमा समेत चुनौती थपिएको उल्लेख गरे ।
‘कोरोनाको महामारीले विश्व सहित घरेलु अर्थतन्त्रलाई प्रभावित गरेको छ । हरेक क्षेत्रमा प्रतिकुलता छँदै छन् । मन्त्रालयले लिएका घोषित लक्ष्य उद्धेश्य हसिल गर्ने हिसाबले सबै शीर्षक समावेश हुने हिसाबले बजेटले सम्बोधन गरेको छ ।’ उनले भने ।
सरकारले अन्तराष्ट्रिय खेलकुद पुर्वाधारदेखि स्थानीय, प्रादेशिक र राष्ट्रिय खेलकुद आयोजना हुने गण्डकी र कर्णाली प्रदेशको खेल पूर्वाधार निर्माणमा बजेट विनियोजन गरिएको बताएको छ ।
मन्त्री विश्वकर्माले मन्त्रालयले तय गरेका कार्यक्रम अघि बढाउन बजेटले आधार तय गरेको बताए । ‘प्रतिकुलता सहज बनेपछि तय गरिएका कार्यक्रम स्रोत साधन परिचालन गरेर काम गर्ने ढोका बजेटले खोलेको छ । यसले आधार तयार गरेको छ ।’ विश्वकर्माले भने ।
बजेट निराशाजनक - सदस्य सचिव
राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवालले खेलकुद क्षेत्रको बजेट निरुत्साहित रहेको प्रतिक्रिया दिएका छन् । नयाँ आर्थिक बर्षका लागि सरकराले संसदमा पेश गरेको बजेट आश गरिए अनुसार नरहेको भन्दै बजेट निराशाजनक रहेको बताए ।
उनले बजेटको शैद्धान्तिक बिषयसंग आफु सहमत भएपनि विनियोजन गरिएको बजेट निराशाजनक रहेको बताएका छन् ।
‘बजेटको शैद्धान्तिक बिषयसंग सहमती छ । अन्तराष्ट्रिय स्तरका खेल पुर्वाधार, स्थानीय, प्रादेशिक रंगशाला, क्रिकेट रंगशाला, कभर्डहल जस्ता खेलकुद पुर्वाधार निर्माणको पक्ष समेटिएको छ ।’ उनले भने, ‘तर समग्रमा बजेट निरुत्साहित बनाउने खालको छ ।’
सरकारले नयाँ आर्थिक बर्षका लागि युवा तथा खेलकुद मन्त्रालयलाई २ अर्ब ३६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । सो रकम अघिल्लो आर्थिक बर्षको बजेट भन्दा झण्डै ४० प्रतिशत कम हो ।
सदस्य सचिव सिलवालले रातो किताबको अध्ययन गरेपछि मात्र बजेटको बिषयमा पुरा विश्लेषण गर्न सकिने बताए ।