एजेन्सी । पाकिस्तानका पूर्व महान् क्रिकेटर सक्लेन मुस्ताक पाकिस्तान क्रिकेटको इन्टरनेसनल प्लेयर डेभलपमेन्टको प्रमुखमा नियुक्त भएका छन् ।
पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले बिहिबार मुस्ताकलाई इन्टरनेसनल प्लेयर डेभलपमेन्टको प्रमुख चयन गरेको जनाएको छ ।
क्रिकेट इतिहासमै उत्कृष्ट स्पिनर मानिने मुस्ताक यस अघि इंग्ल्यान्डको बलिङ प्रशिक्षक रहेका थिए । मुस्ताकले सन् १९९५ देखि २००४ सम्म पाकिस्तानको टिमबाट खेलेका थिए ।
गत वर्ष इंग्ल्यान्डले एकदिवसीय विश्वकपको उपाधि जित्दा उनी टिमको बलिङ प्रशिक्षक थिए । मुस्ताकले न्युजिल्यान्ड, वेस्टईन्डिज, अस्ट्रेलिया, बंगलादेश र पाकिस्तानको बलिङ प्रशिक्षकका रूपमा काम गरिसकेका छन् ।
यस्तै पीसीबीले न्युजिल्याण्डका ग्रान्ड ब्राडबर्नलाई हाइ पर्फमेन्स प्रशिक्षकको प्रमुखमा नियुक्त गरेको छ ।
लाहोरमा रहेको हाइ पर्फमेन्स सेन्टर अन्तर्गत रहेको यस विभागले युवा खेलाडी र महत्वाकांक्षी खेलाडीलाई समर्थन गर्दै दिशा निर्देश गर्ने काम गर्ने पीसीबीले जनाएको छ ।