एजेन्सी । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को नयाँ अध्यक्ष चयनबारे बिहिबार निर्णायक छलफल हुने भएको छ ।
आईसीसीले बुधबार नयाँ अध्यक्ष चयन र निर्वाचनबारे बिहिबार ठोस छलफल हुने जनाएको छ ।
आईसीसीले बोर्डको बैठक मंगलबार बसेको र नयाँ अध्यक्ष चयनबारे छलफल भएको समेत जनाएको छ ।
तर, नयाँ अध्यक्ष चयनका लागि कुनै निर्णय नभएको र बिहिबारको बैठकले तय गर्ने जनाएको छ ।
'निर्वाचन प्रक्रियासम्बन्धी कुनै अन्तिम निर्णय भएको छैन र बिहीबार आईसीसी बोर्डको अर्को बैठकमा यस विषयमा थप छलफल हुनेछ,' आईसीसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
अध्यक्ष शशांक मनोहरको दुई वर्षे कार्यकाल यसै वर्ष सकिदैछ । र, उनले आफ्नो कार्यकाल सकिएपछि पद छाड्ने घोषणा गरिसकेका छन् ।
आईसीसीको आगामी जुलाईको अन्तिममा वार्षिक साधारणसभा हुँदैछ । त्यस समयसम्म आईसीसीले नयाँ अध्यक्ष चयन गर्ने बताईएको छ ।
यस्तै आईसीसीले यसै वर्ष आयोजना हुने आईसीसी टी-२० विश्वकप क्रिकेट स्थगित भएको भन्ने समाचारहरु गलत भएको समेत जनाएको छ ।