एजेन्सी । वेष्ट इण्डिजका क्रिकेटर सुनिल नारिनले भारत आफ्नो लागि दोस्रो घर भएको बताएका छन् ।
इन्डियन प्रिमियर लिग (आईपीएल) टिम कोलकत्ता नाइट राइडर्सका स्पिन बलिङ अलराउन्डर नारिनले टिमको इन्स्टाग्राम भिडियोमा आफ्नो लागि भारत दोस्रो घर भएको बताएका हुन् ।
'जब हरेक वर्ष म भारत छाड्छु, मैले दोस्रो घर छाडेको अनुभव गर्छु । जुन दिन म भारत पुग्छु सहज महसुस गर्छु,' नारिनले भिडियोमा भनेका छन् ।
नारिनले सन् २०१२ बाट कोलकत्ताबाट आईपीएल खेल्दै आएका छन् । उनले कोलकत्ताबाट दुई पटक आईपीएल उपाधि जितेका छन् ।
यस्तै नारिनले आईपीएलका लागि भारत आउँदा कोलकत्ताले आफुलाई सधै सहज बनाउने गरेको बताए । उनले आफु सधै कोलकत्ताको एक हिस्सा बन्न चाहेको समेत बताए ।
'जुनै प्रतियोगिता भएपनि म कोलकत्ताको एक हिस्सा हुन् चाहन्छु । पैसाले केहि फरक पर्दैन,' नारिनले भने ।
स्पिनर नारिनले आईपीएलमा कोलकत्ताका लागि १ सय १० खेलमा १ सय २२ विकेट लिएका छन् । कोलकत्ताको महत्वपूर्ण सदस्य रहेका नारिनले ७ सय ७१ रन बनाएका छन् ।