एजेन्सी । कोरोना भाईरसको महामारीको कारण विश्वभर दुई महिनाबाट क्रिकेट गतिविधि ठप्प रहेको छ ।
पछिल्ला दुई महिना भित्र तय भएको क्रिकेट प्रतियोगिताहरु स्थगित गरिएको छ ।
तर, केही राष्ट्रमा भने बिस्तारै क्रिकेट सुरु हुन थालेको छ । ताइपेइ टी-टेन लिग, भिन्सी टी-टेन लिग र भनौतु टी-टेन लिग सुरु हुने तयारीमा रहेको छ ।
आईसीसीको एसोसिएट राष्ट्र हङकङमा भने बुधबारबाट बुश रेन्जर्स टी-ट्वान्टी च्यालेन्ज क्रिकेट सुरु हुँदैछ ।
प्रतियोगितामा पाँच फ्रेन्चाइज टिमले सहभागिता जनाउने छन् ।
१३ दिन चल्ने प्रतियोगितामा १२ खेल हुनेछन् । फाइनल खेल जुन ८ गते हुनेछ ।
कोरोनाले हङकङलाई खासै असर गरेको छैन । त्यसैले क्रिकेट सुरु गर्न लागिएको हो ।
१ हजार ६६ जना संक्रमित भेटिएको हङकङमा १ हजार ३० जना निको भएर फर्किएका छन् । हङकङमा कोरोनाले ४ जनाको मृत्यु भएको छ ।
पहिलो खेलमा सी डब्लु फाइटर र कोलुन ड्रागन भिड्ने छन् ।