काठमाडौं । कोरोना भाईरसको संक्रमण फैलिन नदिन लागू गरिएको लकडाउनका कारण समस्यामा परेका पारा तेक्वान्दो खेलाडीलाई नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) ले बुधबार खाद्यान्न उपलब्ध गराएको छ ।
५ राष्ट्रियसहित ७ पारा तेक्वान्दो खेलाडीलाई राहत उपलब्ध गराइएको हो ।
एनटीएका अध्यक्ष अशोक खड्काले प्रत्येक खेलाडीलाई १ हजार ८ सय रुपैयाँ बराबरको राहत उपलब्ध गराएको जानकारी दिए ।
खेलाडीका लागि नेपाली सेनाका कर्णेल सुमन खड्काका पिता नेत्रबहादुर र माता सानुमैया तथा तेक्वान्दो प्रशिक्षक एसएस जोशीले सहयोग गरेको खेड्काले बताए ।
खेलाडीको सुविधालाई ध्यानमा राख्दै एनटीएले खेलाडी बस्ने ठाउँमै पुगेर राहत उपलब्ध गराएको थियो । यो कार्यमा राम अधिकारी खटिएका थिए ।
त्यस्तै एनटीएले समस्यामा परेका आफ्नै खेलाडीका ९ परिवारलाई पनि बुधबारै राहत वितरण गरेको छ ।
पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको सहयोगमा खेलाडीलाई राहत वितरण गरिएको हो । पूर्व प्रधानमन्त्री नेपालले समस्यामा परेका परिवारलाई वितरण गर्नका लागि कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरि थापा मार्फत एनटीएलाई केहि परिवारका लागि राहत स्वरुप खाद्यान्न उपलब्ध गराएका थिए । त्यसैबाट खेलाडीलाई राहत प्रदान गरिएको खड्काले बताए ।
यसअघि एनटीएले समस्यामा परेका करिब २ सय ५० परिवारलाई राहत वितरण गरिसकेको छ ।