काठमाडौं । इन्डोनेसियाको राजधानी जाकर्तामा जारी १८ औं एसियन खेलकुद प्रतियोगिता (एसियाड) मा सहभागी हुने टेबुल टेनिस खेलाडीलाई नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिदाई गरेका छन् ।
आज बिहान एक कार्यक्रमकाबीच अध्यक्ष दाहालले टेबुल टेनिस खेलाडीलाई बिदाई गर्दै शुभकामना व्यक्त गरे । उनले एसियाडमा देशको नाम राख्न भन्दै खेलाडीलाई हौसला प्रदान गरेका थिए ।
‘राम्रो खेल प्रदर्शन गर्नुहोस् । मेरो तर्फबाट जीतको शुभकामना छ ।’ उनले भने ।
टेबुल टेनिस सबै उमेर समुहका लागि उपयुक्त खेल भएको बताउदै दाहालले आफुलाई समेत टेबल टेनिस मन पर्ने खेल रहेको उल्लेख गरेका थिए ।
राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य तथा टिम मेनेजर सुदिल शाहीले अध्यक्ष दाहालसंगको भेटले खेलाडीमा थप उर्जा र हौसला बढेको बताएका थिए ।
टेबल टेनिसतर्फ नविना श्रेष्ठ, स्वेच्छा नेम्वाङ, रविना महर्जन, स्यान्टु श्रेष्ठ, अमरलाल मल्ल, दीप सावनले प्रतिस्पर्धा गर्नेछन् । नेपाली टिमको प्रशिक्षकमा अनिल घिमिरे र संजीव ढुंगेल रहेका छन् ।