रोनाल्डिन्होलाई छुट्टाउन मेस्सीले ४ मिलियन खर्च नगर्ने !

एजेन्सी । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले पाराग्वेमा पक्राउ परेका ब्राजिली लिजेण्ड फुटबलर रोनाल्डिन्होलाई जेलबाट छुट्टाउन ४ मिलियन डलर खर्च गर्ने समाचारको खण्डन गरेका छन् ।
नक्कली कागजात प्रयोग गरेको अभियोगमा पक्राउ परेका रोनाल्डिन्होलाई जेलबाट मुक्त गराउन ४ मिलियन डलर खर्च गर्ने समाचार मेस्सीले अस्वीकार गरेका हुन् ।
गत साता पक्राउ परेका रोनाल्डिन्हो र उनका भाइ हाल पाराग्वेको जेलमा रहेका छन् । र, मेस्सीले पूर्व सहकर्मी रोनाल्डिन्होलाई जेलमुक्त गराउन मोटो रकम खर्च गर्ने समाचार बाहिरिएको थियो ।
तर, मेस्सीले भने त्यसलाई अस्वीकार गरेको इन्ग्लिश मिडिया द सनले जनाएको छ । मेस्सीले रोनाल्डिन्होको अवस्थामा सहानुभूति जनाएपनि आर्थिक सहयोग नगर्ने जनाएको बताईएको छ ।
मेस्सीले स्पेनिस क्लब बार्सिलोनामा रोनाल्डिन्होसँग सँगै खेलेका थिए ।

पाराग्वेको नक्कली पासपोर्ट बोकेको कारण रोनाल्डिन्होसँगै उनका भाइ रोबर्टो पनि पक्राउ परेको थिए ।
रोनाल्डिन्हो एक क्यासिनो मालिक नेल्सन बेलोट्टीको निमन्त्रणामा पराग्वे पुगेको स्थानीय प्रहरीले बताएको छ ।
रोनाल्डिन्होसँग अहिले ब्राजिलको पासपोर्ट समेत छैन । सन् २०१८ मा वातावरणीय जरिवानासँगै उनको पासपोर्ट खोसिएको थियो ।
सन् २००२ मा ब्राजिलले विश्वकपको उपाधि जित्दा रोनाल्डिन्हो मुख्य खेलाडी थिए ।
फिफा प्लेयर अफ दि इयर, बालोन डी'ओर जस्ता उपाधि जितेका रोनाल्डिन्होले बार्सिलोना, एसी मिलान लगायतका क्लबबाट व्यवसायिक फुटबल खेलेका थिए ।













%20(1)-1763645320295.jpeg&w=3840&q=75)
