एजेन्सी । घरेलु टिम बंगलादेशले जिम्बावेविरुद्धको तीन खेलको एकदिवसीय क्रिकेट सिरिज जितेको छ ।
सिलेटमा मंगलबार भएको दोस्रो खेलमा जिम्बावेलाई ४ रनले पराजित गर्दै बंगलादेशले एक खेल अगाबै सिरिज २-० ले जितेको हो ।
बंगलादेशले दिएको ३ सय २३ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको जिम्बावेले ५० ओभरमा ८ विकेट गुमाएर ३ सय १८ रन मात्र बनाउन सक्यो ।
जिम्बावेका सिकन्दर राजाले ६६ रनको अर्धशतकीय इनिङ्स खेले । डोनाल्ड टिरिपानोले अविजित ५५, वेस्ले माधिभिराले ५२ तथा तिनासे कामुनहुकाम्वेले ५१ रनको अर्धशतकीय इनिङ्स खेले ।
बंगलादेशका ताइजुल इस्लामले ३ विकेट लिए ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले ५० ओभरमा ८ विकेट गुमाएर ३ सय २२ रन बनाएको थियो ।
बंगलादेशका लागि तमिम इकबालले १ सय ५८ रनको शतकीय इनिङ्स खेले । यससँगै इकबाल जिम्बावेविरुद्ध सर्वाधिक रन र एकदिवसीयमा बंगलादेशका लागि एकै इनिङ्समा सर्वाधिक रन जोड्ने खेलाडी बने ।
त्यस्तै मुस्फिकर रहिमले ५५ रनको अर्धशतकीय इनिङ्स खेल्दा ममुदउल्लाहले ४१ रन बनाए । जिम्बावेका कार्ल मुम्बा र डोनाल्ड टिरिपानोले २/२ विकेट लिए ।
यस जितसँगै बंगलादेशले तीन खेलको सिरिजमा २-० को अग्रता समेत बनाएको छ । पहिलो खेलमा बंगलादेशले जिम्बावेलाई १ सय ६९ रनले पराजित गरेको थियो ।