काठमाडौं । एसियाली साम्बो प्रतियोगितामा सहभागी हुन नेपाली टोली मंगलबार भारतको नयाँ दिल्ली प्रस्थान गर्ने भएका छन् ।
सेप्टेम्बर १० देखि १६ तारिखसम्म हुने प्रतियोगितामा नेपालबाट १६ खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा १२ पुरुष र ४ महिला खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
पुरुषको साम्बो स्पोर्ट्सतर्फ ५२ केजीमा निरज भण्डारी, ५६ केजीमा प्रवीण गुरुङ, ६० केजीमा आशिष तामाङ, ६५ केजीमा विकल छन्त्याल, ६८ केजीमा सुदिप थापा, कृष्णलाल तामाङ र रविन्स तामाङ, ६४ केजीमा दिनेश महर्जन, ८२ केजीमा प्रदीप पाण्डे, ९० केजीमा सुदिप आचार्य र सुदन लामा तथा १०० केजीमा श्रृजेश श्रेष्ठले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । महर्जन, लामा, गुरुङ र आचार्यले कम्ब्याटतर्फ पनि खेल्ने छन् ।
महिला साम्बो स्पोर्ट्सको ४४ केजीमा मिरा पौडेल, ५२ केजीमा भगवती माझी, ५६ केजीमा सब्बारानी महर्जन र ६० केजीमा रचना लामाले भाग लिने छन् ।
अफिसियलमा नेपाल साम्बो फेडेरेसनका अध्यक्ष एवं प्रमुख प्रशिक्षक धनञ्जय श्रेष्ठ, उपाध्यक्ष पुरुषोत्तम सिम्खडा, राजकुमार श्रेष्ठ र रमेश पौडेल, महासचिव उत्तम श्रेष्ठ, सचिव मदन पौडेल र सदस्य राम वली तथा रेफ्रीमा गोपाल पुन मगर रहेका छन् ।
नेपाली टोलीलाई युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा), राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य बद्रीप्रसाद अधिकारी, राखेपका पूर्व सदस्य नारायणप्रसाद पौडेललगायतले सोमबार एक कार्यक्रमबीच बिदाइ गरे ।