काठमाडौं । नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघको तत्वावधान तथा काठमाडौं शारीरिक सुगठन तथा फिट्नेस संघको आयोजनमा राष्ट्रिय खुला मिस्टर काठमाडौं शारीरिक सुगठन प्रतियोगिता शुक्रबारदेखि सुरु भएको छ ।
दुईदिने प्रतियोगिताको पहिलो दिन प्रि जजिङ राउन्ड सम्पन्न भयो । यसै प्रतियोगिताका दौरान महिला एथलेटिक्स फिजिक्स प्रतियोगिता, जुनियर मिस्टर काठमाडौं प्रतियोगिता र पुरुष स्पोर्ट्स फिजिक्समा प्रतिस्पर्धा भइरहेको छ ।
मिस्टर काठमाडौंमा विभिन्न ६ तौलसमूहमा प्रतिस्पर्धा भएको थियो । प्रत्येक तौलसमूहमा शीर्ष पाँच स्थान हात पार्ने खेलाडी फाइनलमा प्रवेश गरेका छन् । फाइनलमा प्रत्येक वजनसमूहमा पहिलो हुने खेलाडीबीच पुनः मिस्टर काठमाडौं उपाधिका लागि प्रतिस्पर्धा हुनेछ ।
हरेक तौलसमूह शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार पाउने छन् । मिस्टर काठमाडौं उपाधि विजेतालाई १ लाख ५० हजार नगदबाट पुरस्कृत गरिने छ ।
त्यस्तै पुरुष स्पोर्ट्स फिजिक्समा १७० सेन्टिमिटर सम्म र १७० सेन्टिमिटर भन्दामाथि उचाईं, महिला एथलेटिक्स फिजिक्स प्रतियोगिता तथा जुनियर मिस्टर काठमाडौं प्रतियोगितामा समान ५–५ खेलाडी फाइनलमा पुगेका छन् ।
प्रतियोगितामा १ सय ३६ खेलाडीले सहभागिता जनाएको आयोजक संघका अध्यक्ष सुरेश सुवेदीले जनाएका छन् । प्रि जजिङ नक्सालस्थित नक्साल बैंक्युटमा भएको थियो फाइनल शनिबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ ।