बिर्तामोड । तेस्रो संस्करणको ‘झापा स्पोर्ट्स अवार्ड’ असोज दोस्रो साता आयोजना हुने भएको छ ।
आयोजक नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) समन्वय शाखा झापाले मंगलबार पत्रकार सम्मेलन गर्दै अवार्ड असोज १३ गते आयोजना हुने जनाएको छ ।
बिर्तामोडको आदर्श ब्यांक्वेटमा हुने अवार्ड कार्यक्रममा वर्ष खेलाडी महिला/पुरुष, वर्ष युवा खेलाडी, वर्ष प्रशिक्षक, पिपुल्स च्वाइज र लाइफ टाइम्स अचिभमेन्ट अवार्ड प्रदान गरिनेछ ।
पूर्व फुटबलर स्वर्गीय आशिष विक्रम नेम्वाङको स्मृतिमा पछिल्लो दुई वर्षदेखि आयोजना गर्दै आएको अवार्डको वर्ष खेलाडी पुरुषले एक थान मोटरसाइकल, महिलाले एक थान स्कुटर, वर्ष खेलाडी युवाले २५ हजार, वर्ष प्रशिक्षकले २५ हजार, पिपुल्स च्वाइज विजेताले २५ हजार र लाइफ टाइम्स अचिभमेन्ट अवार्ड विजेताले ३५ हजार रुपैयाँ पाउने छन् ।
अवार्डमा २०७५ सालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक प्राप्त गर्ने झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लाका खेलाडी र प्रशिक्षकलाई सहभागी गराइन्छ ।
खेलाडी र प्रशिक्षकको मनोनयन सूची यही भदौ २९ गते सार्वजनिक गरिने मञ्चले जनाएको छ ।
यस्तै वार्डलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्न मञ्चका झापा अध्यक्ष हिमाल खरेल संयोजक तथा कार्यसमिति सचिव अर्जुन राजवंशी सदस्य सचिव रहेको ५९ सदस्यीय ‘मूल आयोजक समिति’ गठन गरिएको छ ।