एजेन्सी । दक्षिण कोरियाका फुटबल स्टार सन ह्युङ मिन र भारतीय महिला बक्सर मेरी कोमलाई एसियाको उत्कृष्ट वर्ष खेलाडीको अवार्ड प्रदान गरिने भएको छ ।
एसियाको खेलकुद पत्रकारको छाता संगठन एआईपीएस-एसियाले मंगलबार पुरुषतर्फ सन र महिलामा कोमलाई वर्ष खेलाडी अवार्ड दिने निर्णय गरेको छ ।
कोरियन फरवार्ड सन इन्ग्लिश प्रिमियर लिग क्लब टोटेनहमबाट व्यवसायिक फुटबल खेल्ने गर्छन । सन टोटेनहमका मुख्य खेलाडी समेत हुन् ।
भारतकी बक्सर कोम विश्व बक्सिङको शीर्ष वरियता प्राप्त खेलाडी हुन् । ६ पटक विश्व च्याम्पियन कोम जापान ओलम्पिकका लागि तयारीमा रहेकी छिन् ।
यस्तै मलेसियाको क्वालालम्पुरमा बसेको एआईपीएस-एसियाको बैठकले एसियाको वर्ष फुटबल टिमको अवार्ड कतारको राष्ट्रिय फुटबल टिमलाई दिने निर्णय गरेको छ । कतारको पुरुष टिमले यसै वर्ष एसियन कपको उपाधि जितेको थियो ।
यस्तै महिलातर्फको अवार्ड जापानी महिला फुटबल टिमलाई प्रदान गर्ने निर्णय गरेको छ ।
एआईपीएस-एसियाले पहिलो पटक खेलाडी र टिमलाई अवार्ड दिन लागेको हो ।