काठमाडौं । नेपाली राष्ट्रिय भलिबल टिमका कप्तान ईम राना मगरले कम समयको तयारीले गर्दा एभिसी सेन्ट्रल जोन पुरुष भलिबल च्याम्पियनसिपमा राम्रो प्रदर्शन गर्न नसकेको बताएका छन् ।
घरेलु कोर्टमा जारी एभिसी सेन्ट्रल जोन अन्तर्गत समूह चरणको अन्तिम खेलमा माल्दिभ्ससँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएपछि कप्तान ईमले लामो समयको तयारी गर्न सकेको भए टिमको प्रदर्शन अर्कै हुने बताए ।
प्रतियोगिता नेपालमा आयोजना हुने पहिलेबाटै थाहा पाएको भएपनि टिमको तयारी नभएको कप्तान ईमले भनाई रहेको छ ।
'नेपालमा प्रतियोगिता हुने सन् २०१७ मै थाहा थियो । यत्रो ठुलो प्रतियोगिताका लागि पहिल्लैबाट तयारी चाल्नु पर्ने थियो । तर, त्यो भएन । दुई महिना मात्र तयारीका लागि छुट्टाईयो,' कप्तान ईमले भने, 'बन्द प्रशिक्षकमा भने एक हप्ता मात्र बस्यौँ । त्यसैले सोचे जस्तो भएन ।'
घरेलु कोर्टमा खराब प्रदर्शन गरेको नेपाल माल्दिभ्ससँग ३-० को सोझो सेटमा पराजित भएको थियो । नेपाललाई माल्दिभ्सले २५-२२, २५-२१ र २५-१४ को सेटमा पराजित गरेको थियो ।
यस्तै कप्तान ईमले टोलीको कमीकमजोरी सुधारको लागि प्रयास गरेपनि टिमको तालमेलमा समस्या देखिएको बताए ।
'हाम्रो तालमेलमा समस्या देखियो । हाम्रो जुन पक्ष कमजोरी थियो दुई महिना त्यसलाई सुधार गरेका थियौं । रिसिभ पक्षलाई हामीले सुधार गरेको थियौं । हामीले एक महिनामा मैत्रीपूर्ण खेल खेल्न पाएको भए थप कमीकमजोरी सुधार हुने थियो । त्यो गर्न हामीले पाएनौं,' कप्तान ईमले भने ।
त्यस्तै कप्तान ईमले नियमित सदस्य मान बहादुर श्रेष्ठको अभाव टिममा नपरेको समेत बताए । आठौं नखेलेको कारण टिममा मान नपरेको र अहिले उनको लय समेत गुमेको ईमको भनाई छ ।